Kath khabar
अबदेखि महिनामा २० युनिटसम्म बिजुली प्रयोग गर्नेले ३० रुपैयाँमात्रै तिरे पुग्ने

काठमाडौं, मंसिर २ ।  मंसिरको पहिलो दिनदेखि बिजुलीमा नयाँ महसुल लागू भएको छ । विद्युत् नियमन आयोगको गएको कात्तिक १० गतेको निर्णयअनुसार बुधबारदेखि  विपन्न परिवारलाई फाइदा हुने गरी नयाँ महसुल कार्यान्वयनमा आएको हो ।

नयाँ महसुलअनुसार महिनाको २० युनिटसम्म बिजुली प्रयोग गर्ने घर परिवारले बिजुलीको पैसा तिर्नुपर्ने छैन, ३० रुपैयाँ इनर्जी शुल्क तिरेमात्रै पुग्नेछ । केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट प्रतिस्थापन गरेर नयाँ बजेट ल्याउनुभएका अर्थ मन्त्री जनार्दन शर्माले बजेटमै २० युनिटसम्म उपभोग गर्ने उपभोक्ताबाट शुल्क नलिने उल्लेख गर्नुभएको थियो ।

सरकारले बुधबारदेखि लागू गरेको महसुलअनुसार अब देशभरका १९ लाख ८६ हजार घरधुरीले मासिक ३० रुपैयाँमात्रै तिरे पुग्नेछ। यस्तै कृषि उद्यम र सिँचाइमा प्रयोग हुने विद्युतको सहुलियत महसुल पनि आजैदेखि कार्यान्वयनमा आएको छ । यस्तै, सिङ्गल र थ्री फेज लाइनबाट बिजुली उपभोग गर्ने उपभोक्ताले निःशुल्क रूपमा आफ्नो मिटरको क्षमता बढाउन पाउनेछन् भने सिङ्गल फेज प्रयोगकर्ताको न्यूनतम शुल्क २५ रुपैयाँ घट्नेछ ।

सिङ्गल फेजबाट मासिक एक सय ५१ देखि दुई सय ५० युनिटसम्म बिजुली उपभोग गर्ने उपभोक्ताले अब इनर्जी शुल्क प्रति–युनिट साढे नौ रुपैयाँ तिरे पुग्नेछ भने महिनाको चार सय युनिटभन्दा माथि बिजुली खपत गर्ने उपभोक्ताले इनर्जी शुल्क प्रति–युनिट ११ रुपैयाँमात्रै तिरे पुग्नेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ  मन्त्री पम्फा भुसालको नेतृत्वमा उर्जा मन्त्रालयले २० युनिटसम्म विद्युत खपत गर्ने विपन्न वर्गका ग्राहकबाट महसुल (इनर्जी शुल्क) नलिने निर्णय गरेको हो । र, यो निर्णय मंसिर १ गतेबाट लागू भएको छ । निर्णयसँगैै अब विपन्न परिवारले महिनामा ३० रुपैयाँ सेवा शुल्क तिर्दा महिनाभर बिजुली बाल्न सक्ने अवस्था बनेको छ । मन्त्री भुसालको सिँचाइमा प्रयोग हुने विद्युत महसुलमा पनि भारी कटौती गर्दै छिट्टै निःशुल्क बनाउने रणनीति रहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update