Kath khabar
घट्दै गएको विदेशी मुद्राले अब ७.८ महिनाको वस्तु आयात धान्ने !

काठमाडौं, मंसिर २ । पछिल्लो समयमा मुलुक भित्रिने रकममा आएको कमिको सोझो असर विदेशी मुद्रा सञ्चितिमा परेको छ । असार यता मात्रै यस्तो सञ्चिति  ५.७ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा  विदेशी मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब २ करोड  रहेको थियो । तर बढ्दो आयातका कारण बिदेशीने रकम बढेकाले यो रकम २०७८ असोज मसान्तमा १३ खर्ब १९ अर्ब ३२ करोड कायम भएको छ ।

यो वर्षको तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न मात्रै पर्याप्त रहेको राष्ट्र बैंकको भनाई छ ।

त्यसैगरि अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेको थियो । यो पनि  २०७८ असोज मसान्तमा ६.५ प्रतिशतले कमी आई १० अर्ब ९८ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ सार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ असोज मसान्तमा ८.० प्रतिशतले कमी आई ११ खर्ब ४५ अर्ब २९ करोड कायम भएको छ ।

पर्यटन आयमा आएको कमीको असर पनि बिदेशी मुद्रा सञ्चितिमा परेको हो । यो कुरा राष्ट्र बैंकले सार्वजनिक गरेको खुद सेवा खाताको आकडाले पनि पुष्टि गर्छ । किनभने खुद सेवा आय २३ अर्ब ७९ करोडले घाटामा रहेको  राष्ट्र बैंकले आकडा प्रकाशन गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ११ अर्ब ९४ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय १ सय ८३.८ प्रतिशतले वृद्धि भई ४ अर्ब २० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ अर्ब ४८ करोड रहेको थियो ।

असोज मसान्तसम्म सेवा खाता अन्तर्गत भ्रमण व्यय १ सय ८७.१ प्रतिशतले वृद्धि भई १५ अर्ब २६ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय ८ अर्ब ९२ करोड रहेको छ । अघिल्लो वर्षको सोहि अवधिमा भ्रमण व्यय ५ अर्ब ३२ करोड रहेकोमा शिक्षातर्फको व्यय ४ अर्ब ४३ करोड रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update