काठमाडौ, मंसिर २। कोरोनाभाइरस सङ्क्रमणविरुद्ध प्रभावकारी देखिएका दुईवटा खाने औषधिको उत्पादन नेपालमा पनि गर्न मिल्नेगरी दुईवटा उत्पादकहरूले संयुक्त राष्ट्रसङ्घको समर्थनप्राप्त एउटा निकायसँग गरेको सम्झौताले आफूहरूलाई उत्साहित बनाएको नेपाली अधिकारीहरूले बताएका छन्।
राष्ट्रसङ्घको समर्थनप्राप्त औषधिको सर्वाधिकार हेर्ने निकाय मेडिसिन्स पेटन्ट पूलसँग अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले मङ्गलवार कोभिड-१९ को खाने औषधिको उत्पादन इजाजतपत्र न्यून तथा मध्य आय भएका ९५ वटा देशमा उत्पादन र विक्री गर्न मिल्नेगरी सम्झौता गरेको थियो।
यसअघि गएको अक्टोबरको अन्तिम साता अमेरिकाको अर्को औषधि उत्पादक मर्कले इमोरी विश्वविद्यालयमा आविष्कार गरिएको कोभिड-१९ विरुद्धको खाने औषधि नेपालसहित १०५ वटा देशमा उत्पादन र विक्री गर्न अनुमति दिने गरी मेडिसिन्स पेटन्ट पूलसँग सम्झौता गरेको थियो।
अमेरिकी नियामक निकायबाट आपत्कालीन प्रयोगको लागि अनुमति माग गरेका ती दुवै औषधिले परीक्षणकालमा गम्भीर बिरामी हुने जोखिममा रहेका कोभिड-१९ भएका व्यक्तिहरूमा सकारात्मक प्रभाव पारेको अध्ययनहरूले देखाएका छन्। नेपाली अधिकारीहरूले न्यून आय भएका देशहरूमा यी औषधिको उत्पादनका लागि विश्व स्वास्थ्य सङ्गठनसहितका निकायबाट सहयोग गर्ने विषयबारे आफूहरू जानकार रहेको बताएका छन्।
औषधि उत्पादकहरूको छाता सङ्गठनका एक पदाधिकारीले सरकारको साथ र समर्थन भए प्रविधि हस्तान्तरण गरी निकट भविष्यमा नै नयाँ औषधि नेपालमा उत्पादन गर्न सकिने बताएका छन्।
घोषणा गरिएका औषधिका विशेषता के छन्?
फाइजरले यसै साता गरेको सम्झौताले आफूले विकास गरेको कोभिड-१९ विरुद्धको खाने औषधिलाई विश्वको ५३ प्रतिशत जनसङ्ख्यामा उपचारलाई पुर्याउन सक्ने उल्लेख गरेको छ। नोभेम्बरको प्रारम्भमा फाइजरले औषधिको परीक्षण 'क्लिनिकल ट्रायल' ले पाक्सलोभिड नामक आफूले उत्पादन गरेको औषधिले उच्च जोखिममा रहेका वयस्क बिरामीमा अस्पताल भर्ना हुनुपर्ने वा मृत्यु हुने सम्भावना ८९ प्रतिशतले घटाउने जनाएको थियो।
मर्कले विकास गरेको खाने औषधि मोल्नुपिराभिरले अस्पतालमा भर्ना हुने वा मृत्यु हुने जोखिम आधाले घटाउने भनिएको थियो। मोल्नुपिराभिर यूकेको नियामक निकायबाट कोभिड १९ को लक्षण भएका व्यक्तिको उपचारमा प्रयोग गर्न मिल्नेगरी अनुमति पाउने पहिलो औषधि हो।
नेपाली अधिकारीहरू के भन्छन्?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले औषधि उत्पादनका लागि थप अनुमति आवश्यक नपर्ने अवस्थाबाट नेपालभित्रै पनि कोभिडविरुद्धका खान मिल्ने औषधिहरूको उत्पादनको बाटो खुल्न सक्ने बताउनुभयो।
उहाँ भन्नुहुन्छ, "हाम्रो आफ्नै सरकारी औषधि उत्पादक निकाय पनि छन्। अनि निजी औषधि उत्पादकहरूले एन्टिभाइरल औषधि उत्पादन गरेका छन् र खोपको क्षेत्रहरूमा पनि काम गरेका छन्। इजाजत प्राप्त भयो भने यहाँका उत्पादकहरूले पनि त्यो सम्भावनाको खोजी गर्न सक्छन्। ती फर्मुला लिएर नेपालमा उत्पादन गर्न सक्नु राम्रो कुरा हो।"
नेपालमा औषधि उत्पादन गर्न कति सम्भव?
हाल नेपालमा क्यान्सरसहित कैयौँ गम्भीर प्रकारका रोगहरूको औषधि उत्पादन हुन थालेको उल्लेख गर्दै अधिकारी कोभिड-१९ विरुद्धको औषधिको उत्पादन पनि सम्भव रहेको बताउनुभयो। "अहिले ट्याब्लेट/क्याप्सुलकै मिश्रणमा यी औषधिहरू आउन लागेका हुन्। हामी सहजै गर्न सक्छौँ। तर उनीहरूले हामीलाई प्रविधि हस्तान्तरण गरे भने हामी केही महिनामा नै उत्पादन गर्न सक्छौँ, नत्र हामीलाई केही समय थप लाग्छ," उहाँले भन्नुभयो।
कुनै नयाँ औषधि मुलुकमा भित्र्याउने निर्णय नेपाल सरकारले गर्नुपर्ने भन्दै उनले कोरोनाभाइरस विरुद्धका औषधिहरू भारतमा पनि उत्पादन गर्ने भनिएकाले त्यसबाट नेपाललाई फाइदा हुने बताउनुभयो। उहाँ भन्नुहुन्छ, "भारतमा हुँदा हामीलाई प्रविधि हस्तान्तरणको हिसाबले पनि सजिलो भयो। पहिला हाम्रो देशले प्रयोगको लागि र उत्पादनका लागि अनुमति दिनुपर्यो। सर्वाधिकार हाम्रो लागि ठूलो विषय हुँदैन।"
बङ्गलादेशमा उत्पादन हुन थालेको केही समयपछि नेपालमा पनि रेम्डेसिभिर उत्पादन हुन थालेको दृष्टान्त दिँदै उनले औषधि उत्पादकहरूले देशभित्रै खोप लगायत अन्य जीवनरक्षक औषधिहरू उत्पादन भइरहेकाले कोरोनाभाइरसको औषधि पनि उत्पादन गर्न आफूहरू सक्षम रहेको धारणा राखेका छन्।
(बीबीसी नेपालबाट साभार गरिएको)