काठमाडौं, मंसिर २। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा दुई सय ९८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल ११ हजार एक सय ५१ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप छ जनाको मृत्यु भएको छ। यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरूको संख्या ११ हजार चार सय ८९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई सय ६० जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या सात हजार छ सय ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप एक सय २० जना संक्रमित भएकाछन्। जसमध्ये काठमाडौं जिल्लामा ९०, ललितपुर जिल्लामा २५ र भक्तपुर जिल्लामा पाँच जनामा संक्रमण पुष्टि भएको छ। यो समेत गरी हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार छ सय २८ रहेको छ ।