Kath Khabar
जाडोमा बढ्छ हृदयघातको जोखिम, यसरी गर्नुहोस् मुटुको ख्याल


काठमाडौं, मंसिर ५ । जाडो मौसम निकै रमाइलो भएपनि यसले धेरै रोगहरु पनि लिएर आउँछ, जाडोमा तापक्रम घट्ने गर्दछ। कम तापक्रमले स्नायु प्रणालीलाई सक्रिय बनाउँछ । यसले रक्त वाहिकाहरूलाई संकुचित बनाउँछ तथा मुटुको दर, रक्तचाप र कोलेस्ट्रोलको स्तर बढाउँछ। उच्च रक्तचाप नभएकालाई पनि एकैचोटी हृदयघात हुन सक्छ। चीसोका बेला रक्तप्रवाह गर्ने नसा खुम्चिन्छन्, नसामा रहेको रगतले रक्तधमनीलाई दबाब दिन्छ, यस्तो बेला उच्च रक्तचाप देखिन सक्छ। विशेषगरी जाडो मौसम मुटु रोगीका लागि खतरनाक मानिन्छ । अध्ययनका अनुसार यो मौसममा हृदयाघात हुने सम्भावना बढि हुन्छ ।

यो मौसममा हाम्रो शरीर र मुटुलाई सही तापक्रम कायम राख्न धेरै मेहनत गर्नुपर्छ। जसका कारण हाम्रो मुटुमा बढी दबाब पर्छ र कमजोर मुटु भएकालाई हृदयघातको जोखिम बढ्छ ।

जाडो मौसम मुटु रोगीका लागि किन खतरनाक- चिसोमा रक्तनली खुम्चिन्छन् रक्तनली खुम्चँदा मुटुमा पर्याप्त अक्सिजनयुक्त रगतको आपूर्ति हुन सक्दैन। यस्तो बेला हृदयघातको जोखिम हुने मुटुरोग विशेषज्ञको भनाइ छ। हृदयघात हुने वित्तिकै अस्पताल नपुग्ने बिरामीको ज्यान जाने संभावना बढी हुन्छ।

अन्य कारणहरू- स्वास्थ्य विज्ञहरूका अनुसार वायु प्रदूषण, शारीरिक व्यायामको कमी, मानसिक दबाब तथा यस मौसममा खराब खानपान र भाइरल इन्फेक्सनले पनि हृदयघातको सम्भावना बढाउँछ।

कमजोर मुटु भएका वा पहिलेदेखि नै रोग लागेका मानिसहरूलाई यस मौसममा श्वास फेर्न गाह्रो हुने भएकाले यो मौसममा सबैभन्दा बढी जोखिम हुन्छ। यसका साथै यो मौसममा फ्लु, निमोनिया जस्ता रोग लाग्ने सम्भावना पनि बढी हुन्छ ।

जाडोमा मुटुको यसरी ख्याल राख्नुहोस्
स्वास्थ्य विज्ञहरूका अनुसार चिसो मौसममा न्यानो कपडा, पञ्जा र टोपी लगाएर शरीरलाई न्यानो राख्नुपर्छ। अत्याधिक धुम्रपान र मदिराको सेवनबाट जोगिनुपर्छ, योग वा ध्यान गर्नुपर्छ, राम्रो र पूर्ण निद्राले मुटुलाई स्वस्थ राख्न सक्छ।

विज्ञहरूले खानपानमा विशेष ध्यान दिन सुझाव दिन्छन् । धेरै नुन र मिठाईहरू त्याग्ने तथा फलफूल र सलादको मात्रा बढाउनुपर्दछ। समय-समयमा स्वास्थ्य परीक्षण गराइरहनुपर्दछ र कुनै पनि प्रकारको समस्या देखिएमा तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्दछ।

 

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update