काठमाडौं, मंसिर ६। जनता महँगीको मारमा परेका छन् । सरकार भने कर उठाउनमा मात्रै व्यस्त छ । पेट्रोलियम पदार्थमा भएको उच्च मूल्य वृृद्धिमा कर छुट दिएर राहत दिन चुकेको सरकारले तरकारीको भाउ र तेलको मूल्यमा भने नियन्त्रण गर्न सकेको छैन ।
तरकारीको भाउ अकासिएको छ । धेरैजसो तरकारीको मूल्य एक सय पचास रुपैैयाँको हाराहारीमा रहेको छ । टमाटर , साग र काउलीको भाग उच्च मात्रामा बढेको छ । जसका कारण भान्सा महंगो भएको छ ।
तलब र ज्याला बढ्न सकेको छैन । तर,यता महँगी भने अकासिएको छ । विशेषगरि तेल तथा घिउको भाउमा अचाक्ली बढेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ ।
२०७७ असोजको तुलनामा २०७८ असोजमा घ्यू तथा तेलको मूल्य ३१.६८ प्रतिशत, माछा तथा मासुको भाउ ११.९३ प्रतिशत र दाल तथा गेडागुडीको भाउ १०.७१ प्रतिशतले बढेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ ।
सुर्तीजन्य वस्तु १०.१२ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि ९.६३ प्रतिशत रहेको छ ।
कुल महँंगी पनि गत वर्षको तुलनामा बढेको देखिएको छ । २०७८ असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२४ प्रतिशत रहेको राष्ट्र बैंक बताउँछ । जबकी अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.७९ प्रतिशत रहेको थियो ।
असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७२ प्रतिशत रहेको छ ।
काठमाडौं उपत्यकामा ३.४८ प्रतिशत, तराईमा ४.०१ प्रतिशत, पहाडमा ५.६८ प्रतिशत र हिमालमा ३.१२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ असोजमा यी क्षेत्रहरुमा क्रमशः ३.३५ प्रतिशत, ४.४६ प्रतिशत, ३.०३ प्रतिशत र ४.३९ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैक बताउँछ ।