काठमाडौं, मंसिर ७ । काठमाडौंसँग जोडिएका मुख्य चार नाका कलङ्की, बल्खु, कोटेश्वर र गोङ्गबुमा एक महिनासम्म कोरोनाविरुद्धको खोप लगाउन पाइने छ ।
अस्तिदेखि सुरु भएको खोप कार्यक्रम आउँदो पुस ५ गतेसम्म चल्ने काठमाणडौं महानगरपालिकाले जनाएको छ । यी क्षेत्रमा रहेका खोप केन्द्रमा १८ वर्ष उमेर पूरा भएका सबै नागरिकले खोप लगाउन पाउने छन् । खोप लगाउन जाँदा उमेर खुलेको प्रमाण पत्र भने लैजानु पर्नेछ ।
महानगरपालिकाका अनुसार चारवटै खोप केन्द्रबाट भेरोसेल, कोभिसिल्ड÷एस्ट्राजेनेका खोप दिइने छ । योसँगै महानगरका ३२ वटै वडामा तोकिएको खोप केन्द्रबाट आज र भोलि कोभिडविरुद्धको पहिलो र दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन गरिँदैछ ।
यसमा १८ वर्ष उमेर समूहमाथिका र यसअघि खोप लगाउन छुटेका सबै नागरिक, पहिलो मात्रा लगाएर आठ हप्ताको समय कटिसकेकाहरूलाई दोस्रो मात्रा दिइने स्वास्थ्य विभागले जनाएको छ ।