काठमाडौं, मंसिर ७ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार कार्यालय ताहचलमा अनुगमन गरी सेवालाई व्यवस्थित र पारदर्शी गर्न निर्देशन दिनुभएपछि केही सुधार भएको छ । गत मंसिर १ गते बुधवार मन्त्री श्रेष्ठले वैदेशिक रोजगार कार्यालय ताहचलमा अनुगमन गर्नुभएको थियो । सेवाग्राहीको समस्या र गुनासाहरु सुनेर मन्त्री श्रेष्ठले तत्काल समाधानका लागि कर्मचारीलाई निर्देशन दिनुभएको थियो ।
सुधारहरु
१.विदेश जाने युवाले भोग्ने सास्ती कम गर्न श्रम स्वीकृति लिने प्रक्रियागत काम आधा घटाइएको छ, जसबाट घण्टौं लाइन बस्नुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ ।
२. सेवाग्राहीले अनलाइन फारम भरेर ई–टोकन अर्थात् विद्युतीय पालो प्रणालीको व्यवस्था रहेकोमा अनलाइन र अफलाइन टोकनका आधारमा सेवा दिने व्यवस्था गरिएको छ ।
३ .ठगीलाई नियन्त्रणका लागि सहायता कक्ष स्थापना गरिएको छ ।
४ .श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र बायोमेट्रिकका सेवाग्राहीको भीड हुने भएकोले आवश्यकता अनुसार २ सिफ्टमा काम गर्न थालिएको छ ।