Kath khabar
साउदी अरेबियाले ल्याएको श्रम कानुनबारे श्रममन्त्रीको चासो

काठमाडौं,  मंसिर ७। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि साउदी अरेबियाका राजदुत मुसैद वीन सुलेमन अल मार्वानीले  शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा सोमबार भएको भेटवार्तामा उहाँहरूबीच नेपाल–साउदी अरेबियाबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भयो । सो अवसरमा श्रममन्त्री श्रेष्ठले साउदी अरेबियाले हालै ल्याएको श्रम कानुनबारे चासो राख्नुहुँदै नयाँ श्रम कानुनबाट नेपालीहरु लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री श्रेष्ठले साउदी अरेबिया सरकारसँग प्रक्रियामा रहेको द्विपक्षीय श्रम सम्झौतालाई तार्किक निष्कर्षमा पुर्याउन समन्वयका लागि समेत राजदुत अल मार्वानीसँग आग्रह गर्नुभयो । मन्त्री श्रेष्ठले नेपालमा पनि सीप परिक्षण परियोजना कार्यन्वयनका लागि राजदुतमार्फत साउदी अरेबिया सरकारसमक्ष आग्रह गर्नुभयो । नेपालबाट वैदेशिक रोजगारीमा गएकामध्ये २० प्रतिशत जनशक्ति साउदी अरेबियामा रहेको चर्चा गर्नुहुँदै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्रमा साउदी अरेबिया सरकारले नेपाललाई प्रदान गरेको अवसरको लागि धन्यवाद दिनुभयो ।

साउदी अरेबियाबाट आर्जन गरेको आर्थिक, सामाजिक र प्राविधिक पुँजीबाट धेरै नेपाली लाभान्वित भएको भन्दै मन्त्री श्रेष्ठले निर्माण, अतिथि सेवा र अन्य सेवाबाहेक प्रविधिमा आधारित उद्योगमा पनि नेपाली श्रमिकहरु काम गर्न इच्छुक रहेको बताउनुभयो । राजदुत अल मार्वानीले द्विपक्षीय श्रम सम्झौता छिटो सम्पन्न गर्न साउदी अरेबिया तयार रहेको बताउनुभयो । साउदी अरेबियाले हालै ल्याएको श्रम कानुनले श्रमिकहरुको समस्या सम्वोधन गर्ने उहाँले बताउनुभयो । नेपाल र साउदी अरेबियाबीच सन् १९७७ मार्च १५ मा कुटनीतिक सम्वन्ध स्थापना भएको हो ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update