काठमाडौं, मंसिर ७ । विश्व बैंकको एक अर्ब ६७ करोड ऋण सहयोगमा निर्माण गरिएको चोभारको सुख्खा बन्दरगाह सञ्चालनमा नआउँदै अलपत्र परेको छ। अहिले सम्म यसको सञ्चालनको कार्यविधि बन्न नसक्दा सञ्चालनमा आउन सकेको छैन ।
सुरुवातकोे वर्षमा नै वार्षिक तीन देखि चार करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिइएको यो बन्दरगाहका लागि भन्सार विभागले कार्यविधि निर्माण गर्नुपर्ने थियो । भन्सार विभागले यो बन्दरगाहमा के कसरी सामानको जाँचपास गराउने र प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले क्वारेन्टीन के कसरी गर्ने भनेर टुंगो लगाउन नसक्दा अहिले यो सञ्चालनमा आउन नसकेको हो ।
हिमाल सिमेन्टको करिब ३० करोड रुपैयाँ बैंकको ऋण तिरेर सरकारले यो आयोजना निर्माण गरिएको हो । जसमा तीन सय ५० ट्रक र छ सय वटा कन्टेनर अट्छन् ।
तर, अढाई वर्ष लगाएर निर्माण सम्पन्न भएको बन्दरगाहमा जाँचपास र क्वारेन्टिन के कसरी गर्ने भनेर टुंगो भने लाग्न सकेको छैन, जसका कारण ठेकेदारले निर्माण सम्पन्न गरेर बुझाएको चार महिना बित्दासम्म यो कहिले देखि सञ्चालनमा आउँछ भन्ने टुंगो छैन ।
भन्सार विभागले अहिलेसम्म यसका लागि आवश्यक कर्मचारी पनि पठाएको छैन । जसका कारण यो कहिले देखि सञ्चालनमा आउछ भन्ने निश्चित छैन ।
सुख्खा बन्दरगाह सञ्चालनमा आएसँगै काठमाडौंको कन्टेनर बोकेका सवारी साधनसोझै काठमाडौं आउन पाउनेछन् । बाहिरी चक्रपथ, काठमाडौं तराई द्रुत मार्ग, चीन र भारतबाट आउने रेललाई पनि जोडेर ट्रान्जिट हब बनाउने भनिएको यो सुख्खा बन्दरगाहमा अध्यागमन, भन्सार, बैंक तथा वित्तीय संस्था, क्वारेन्टाइन लगायतका कार्यालय राखिने तयारी थियो ।
चोभारमा हालैमात्रै निर्माण सम्पन्न भएको सुख्खा बन्दरगाहको सञ्चालनमा आएसँगै काठमाडौंको कन्टेनर बोकेका सवारी साधनसोझै काठमाडौं आउन पाउनेछन् । वीरगञ्जमा रोकिनु पर्नेछैन । किनभने अहिले काठमाडौैं व्यापारको मुख्य क्षेत्र भएपनि यहाँ आउने सामानहरु वीरगञ्ज भन्सारमा जाँच गराउनुपर्छ । जसका लागि सवारी साधनहरु दुई दिनसम्म भन्सार नाकामा बस्नु पर्ने स्थिति छ ।