Kath khabar
माथिल्लो सीमा नतोकिएको एफडिआइ झन्डै ६ अर्बले वृद्धि

काठमाडौं, मंसिर ८। माथिल्लो सीमा नतोकिएको प्रत्यक्ष विदेशी लगानी  (एफडिआइ) प्रतिबद्धता समेत पहिलो चौमासिकमा बढेको देखिन्छ । आर्थिक वर्ष ०७८/७९ को चार महिनाको अवधिमा २५ अर्ब ११ करोड २७ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । जुन लगानी एक सय १५ वटा परियोजना तथा सात हजार चार सय ४३ जनालाई रोजगारी सहितको प्रतिबद्धता हो । यस्तै आर्थिक वर्ष ०७७/७८ को सोही अवधिमा १९ अर्ब ७६ करोड ५५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । जुन लगानी प्रतिबद्धता एक सय एक वटा परियोजना तथा दुई हजार नौ सय ७२ जनालाई रोजगारीसहितको हो ।

आर्थिक वर्ष ०७८/७९ मा सबैभन्दा धेरै सेवामा ११ अर्ब १४ करोड ५० लाख र सबैभन्दा कम ऊर्जामा १० करोड ६२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । यस्तै पर्यटनमा नौ अर्ब ७१ करोड १५ लाख रुपैयाँ, उत्पादनमा तीन अर्ब २० करोड रुपैयाँ, कृषि तथा वन पैदावरमा ६० करोड रुपैयाँ र सूचना, सञ्चार तथा प्रसारणमा ३५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

आर्थिक वर्ष ०७७/७८ मा सबैभन्दा बढी पर्यटनमा १४ अर्ब १० करोड ५५ लाख रुपैयाँ र त्यसपछि क्रमशः सेवामा चार अर्ब ६५ करोड रुपैयाँ, उत्पादनमा ३६ करोड रुपैयाँ, कृषि तथा वन पैदावरमा २५ करोड रुपैयाँ, उत्पादनमा १९ करोड ९० लाख रुपैयाँ र सूचना, सञ्चार तथा प्रसारणमा १८ करोड नौ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । विदेशी लगानीको हकमा नयाँ आएको औद्योगिक व्यवसाय ऐन–०७५ अनुसार लगानीको सीमा (थ्रेसहोल्ड) तोकेको छ । थे्रसहोल्डअनुरुप पाँच करोड रुपैयाँभन्दा कम लगानीको पुँजी भएको विदेशी लगानीका परियोजना विभागमा दर्ता हुँदैन ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ अनुरुप विदेशी लगानी नेपाल भित्रिन्छन् । यसबाहेक औद्योगिक व्यवसाय ऐन, २०७६, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५, गैरआवसीय नेपालीसम्बन्धी ऐन, २०६४ ले समेत विदेशी लगानीलाई भित्र्याउन मदत गर्दछ ।

‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० देखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला उद्योग विभागले दर्ता गर्छ । समग्र अर्थात् स्वदेशी तथा विदेशी गरेर लगानी रकम भने बढेको विभागले जनाएको छ । चालु आर्थिक वर्षको चौमासिक अवधिमा  एक खर्ब ३४ अर्ब ८६ करोड ९४ लाख रुपैयाँ प्रतिबद्धता आएको छ । जुन एक सय १६ वटा परियोजना र १० हजार दुई ६८ जनालाई रोजगारीसहित आएको विभागले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update