Kath khabar
यहाँ स्रोत साधनको होइन नेतृत्वमा व्यवस्थापकीय कलाको अभाव छः अर्थमन्त्री


काठमाडौं, मंसिर ८। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको बताउनुभएको छ । आज बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले सार्वजनिक निजी साझेदारीमा निजी क्षेत्रले पूर्वाधार निर्माणमा समेत हात हाल्नुपर्ने र यसमा सरकारले सघाउने जिकिर गर्नुभयो ।

आर्थिक पत्रकार सम्मान केशव गौतमलाई तथा आर्थिक जर्नल ‘अर्थचित्र’ विमोचन गर्दै मन्त्री शर्माले कोभिड १९ पछि खस्किएको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन तथा विकास निर्माण तथा आर्थिक समृद्धिलाई गति दिन सरकार निजी क्षेत्रसँग सँगसँगै हिड्‌न तयार रहेको बताउनुभयो । मुलुकको अर्थतन्त्र मजबुत बनाउनै लागि पनि सरकारले निजी क्षेत्रको साथ चाहेको मन्त्री शर्माले बताउनुभयो ।

“मुलुकको अर्थतन्त्रको पुनरुत्थान तथा विकासका लागि सार्वजनिक निजी क्षेत्रको साझेदारी तथा निजी क्षेत्रको सहभागिता महत्वपूर्ण रहँदै आएको छ । यसको वातावरण बन्नेमा म विश्वस्त छु,” अर्थमन्त्री शर्माले भन्नुभयो, “निजी क्षेत्रको विकासका लागि पनि सरकारले सोचिरहेको छ । निजी क्षेत्रलाई सहुलियत दिने सन्दर्भमा, सहजिकरण गर्ने सन्दर्भमा सरकार सँधै तयार छ । सहुलियत कहाँ कहाँ दिन सकिन्छ त्यो सरकारले तयारी गरिरहेको छ । मैले त्यो गम्भीरतापूर्वक लिएको छु ।”

सो अवसरमा मन्त्री शर्माले मुलुकको अर्थतन्त्रको आकार निकै सानो भएकाले सबै क्षेत्रलाई एकैपटक उठाउन नसकिने र त्यो सम्भव पनि नभएकाले क्रमशः विकास गर्दै जानुपर्ने बताउनुभयो । “हाम्रो पुँजीनिकै सानो आकारको छ । यसले सामाजिक आर्थिक, पूर्वाधारका क्षेत्र, स्वास्थ्य शिक्षाको क्षेत्रको विकासका लागि अर्थतन्त्र विकासमा जोड दिनुपर्नेछ,” शर्माले भन्नुभयो, “यसका लागि सरकारी–निजी साझेदारीको अहम भूमिका रहन्छ ।” विकासका लागि साधन स्रोतको कुनै कमी नभएको मन्त्री तर व्यवस्थापकीय कलाको मात्र कमी भएको शर्माले बताउनुभयो । हामीलाई छिटो प्रगति गर्नुछ, विकास पथमा अघि बढ्नुछ, यसका लागि साधन स्रोतको कमी नरहेको चर्चा गर्दै उहाँले भन्नुभयो “तर पनि हामी चुकिरहेका छौं । किनकी हामीसँग व्यवस्थापकीय कलाको अभाव छ । यो समस्या चिर्न सक्यौं र सरकारी निजी साझेदारीलाई अझ मजबुद बनाउन सक्यौं भने विकास सम्भव छ, समृद्धि सम्भव छ ।” मन्त्री शर्माले विकास निर्माणमा निजी क्षेत्रलाई पनि सहभागि गराउने उद्देश्यले सरकारले तयारी गरिरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको व्यवस्था सीडी रेसियोकै कारण मुलुकको वित्तीय क्षेत्र गलत दिशातर्फ जानबाट बचेको जिकिर गर्नुभयो । “सीडी रेसियो (कर्जा निक्षेप अनुपात) कार्यान्वयन गरेर वित्तीय संस्थाहरु बचाएका छौं । मुलुकको वित्तीय सही दिशामा रहन मद्दत पुगेको छ,” अधिकारीले भन्नुभयो, “यसले केही सीमित समूहलाई नकारात्मक प्रभाव परेको हुनसक्छ तर त्यसलाई हेरेर हुन्न, हामीले समग्र अर्थतन्त्रलाई हेर्नुपर्छ ।” गर्भनर अधिकारीले आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी अपरिहार्य रहेको बताउनुभयो । “स्पष्ट पोलिसी, योजनाको कार्यान्वयन र निजी क्षेत्रको सहभागिता देश विकासका लागि महत्वपूर्ण छ,” अधिकारीले भन्नुभयो “सरकारले निजी क्षेत्रलाई नीतिगत व्यवस्थामा वा अन्य उपायले व्यावसायीक सहजीकरण गरिदिनुपर्छ भने निजी क्षेत्रले पनि सरकारलाई साथ दिनुपर्छ ।”

त्रिभुवन विश्व विद्यालय केन्द्रीय अर्थशास्त्र विभाग प्रमुख प्रा. डा.शिवराज अधिकारीले सरकार र निजी क्षेत्र एक अर्काका लागि परिपुरक भएको बताउनुभयो । “सरकारले निजी क्षेत्रलाई सहजीकरण गरिदिनुपर्छ र निजी क्षेत्रले सहयोगी तथा साझेदारीको रुपमा सरकारलाई सहयोग गर्नुपर्छ,” अधिकारीले भन्नुभयो “सरकार र निजी क्षेत्रबीचको असमझदारीको खाडल पुर्न सकियो भने विकास सम्भव छ, आर्थिक पुनरुत्थान सम्भव छ ।”

निजी क्षेत्रले उठायो ब्याजदर र एमसीसीको कुरा, कसले के भने ?
राजेन्द्र मल्ल
अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
कोभिड १९ को प्रभावले मुलुकको अर्थतन्त्रमा समस्या पारेको छ । यसका लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सम्बोधन गरेको छ । तर, अहिले बजारमा तरलता (लगानी योग्य रकम) अभावको समस्या देखिएको छ । यो समस्या बैंकले सम्बोधन गर्नुपर्छ । सीडी रेसियोलाई छिटो भन्दा छिटो सम्बोधन गर्नुपर्ने देखिन्छ । अधिकांश बैंकहरुको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि गईसकेकाले थप लगानी गर्न नसक्ने अवस्थामा पुगिसकेका छन् । यसले निजी क्षेत्र प्रभावित हुन पुगको छ । व्यवसाय गर्नका लागि लगानीको अभाव हुन थालेको छ । यस तर्फ राष्ट्र बैंकको ध्यान जान जरुरी छ । सरकार र निजी क्षेत्र एकै रथको दुई पाङ्ग्रा भएर अघि बढ्न तयार छ । मुलुकको आर्थिक विकासका लागि सरकारसँग हातेमालो गर्न निजी क्षेत्र सधै तयार छ ।

कृष्ण प्रसाद अधिकारी
कार्यवाहक अध्यक्ष, नेपाल उद्योग परिसंघ
निजी क्षेत्रले मात्र होइन पछिल्लो समय सरकारले समेत आर्थिक पुनरुत्थानमा सक्रिय हुन सकेन । जति गर्नुपर्ने थियो त्यति गर्न सकिएन । तर, मुलुकको आर्थिक पुनरुत्थानका लागि सार्वजनिक निजी साझेदारी अपरिहार्य छ ।

कोभिड १९ प्रभाव नेपालमा मात्र होइन सबै जसो मुलुकहरुमा परेको छ । अधिकांश मुलुकहरु विस्तारै उत्थानको चरणमा छन् । यसलाई नेपालले पनिचुनौतीको रुपमानभई अवसरको रुपमा लिनुपर्छ । सार्वजनिक निजी साझेदारीकोरुपमा आर्थिक विकास तथा पुनरुत्थानमा लानुपर्छ ।

सरकारले निजी क्षेत्रलाई सहजीकरण गरिदियो भने, नीतिगतव् यवस्था गरिदियो भने, लगानीको वातावरण मिलाइदियो भने अर्थतन्त्र उत्थानमा समस्या हुँदैन, छिटै आर्थिक पुनरुत्थानमा जान सकिन्छ ।

शेखर गोल्छा
अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
जब ब्याजदर ४–५ प्रतिशतमाथि पुग्छ तब बैंकहरुमा पैसा सुक्छ । तरलता समस्याको कुरा गर्नुपर्दा विदेशी लगानीलाई ल्याउन सकिएको छैन। नीतिगत समस्याका कारण रोकिएको अवस्था छ । एमसीसी देशका लागि आवश्यक छ । यसले विकासमा भाइटल रोल खेल्नसक्छ । त्यसैले यसलाई रोक्न हुन्न स्वागत गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

 

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update