काठमाडौं, मंसिर ९ । उच्च आयातले गर्दा मुलुकले सदैव व्यापार घाटा व्यहोर्नु परेको छ । चालु आर्थिक वर्ष ०७८÷०७९ को प्रथम चौमासिकमा व्यापार घाटा ५७ प्रतिशतले वृद्धि हुँदा पाँच खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । निर्यात न्यून भएको कारणले गर्दा मुलुकको व्यापार सदैव घाटामा रहेको पाईन्छ । दैनिक उपभोग्य सामग्री देखि लिएर पेट्रोलियम पदार्थ तथा महँगा सवारी साधन र तिनका पाटपूर्जाहरु आयात गर्नु पर्ने वाध्यता रहेको छ । गत आर्थिक वर्षको चार महिनाको अवधिमा व्यापार घाटा तीन खर्ब ६२ अर्ब २९ करोड रुपैयाँ रहेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
प्रथम चौमासिकमा आयात ६२ प्रतिशतले वृद्धि हुँदा छ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरको आयात भएको छ । भटमास, पामतेलका कच्चा पदार्थ तथा पेट्रोलियम पदार्थको उच्च आयात हुने गरेको छ । उद्योगीहरुले भटमास, पामतेलका कच्चा पदार्थ प्रशोधन गरी पुनः निकासी गरेको पाईन्छ । गत आर्थिक वर्षको सोहि अवधिमा आयात चार खर्ब दुई अर्ब ४९ करोड रुपैयाँ रहेको थियो ।
यस्तै निर्यात एकसय चार प्रतिशतले वृद्धि हुँदा ८२ अर्ब १२ करोड ४२ लाख रुपैयाँको बराबरको निर्यात भएको विमागले जनाएको छ । नपाली व्यवसायीहरुले सोयबिन तेल, पाम तेल, र्यान, कपडा, पोलिष्टर , चिया लगायतका सामग्री उच्च निर्यात गर्ने गरेका छन् । गत आर्थिक वर्षको सोहि अवधिमा ४० अर्ब २० करोड रुपैयाँको निर्यात भएको थियो ।
प्रथम चौमासिकमा कुल वैदेशिक व्यापार ६५ प्रतिशतले वृद्धि हुदाँ सात खर्ब ३२ अर्ब ४१ करोड रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोहि अवधिमा कुल वैदेशिक व्यापार चार खर्ब ४२ अर्ब ६९ करोड रुपैयाँ रहेको थियो ।