काठमाडौं, मंसिर ११। विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको नयाँ भेरिअन्टलाई भेरिअन्ट अफ ''कन्सर्न'' घोषणा गरेको छ र यसलाई ओमिक्रोन नाम दिएको छ।
यो भेरिअन्टको ठूलो सङ्ख्यामा उत्परिवर्तित भएको छ र प्रारम्भिक प्रमाण अनुसार यो भेरिअन्टबाट सङ्क्रमणको जोखिम उच्च रहेको डब्लुएचओले जनाएको छ।
यो भेरिअन्ट पहिलो पटक नोभेम्बर २४ तारिखमा दक्षिण अफ्रिकामा पाइएको डब्लुएचओलाई जानकारी गराइएको थियो। हालसम्म ओमिक्रोन बोत्स्वाना, बेल्जियम, हङकङ अनि इजरेलमा पनि पुष्टि भएको छ।
कैयौँ देशहरूले दक्षिण अफ्रिका जाने वा आउने क्रमलाई पूर्ण प्रतिबन्ध लगाएका वा सीमित पारेका छन्। दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ भेरिअन्ट तीव्र रूपमा फैलिरहेको पत्ता लागेको हो।
पहिलाका उत्परिवर्तनभन्दा यो पछिल्लो उत्परिवर्तन थप घातक हो कि होइन भन्ने स्पष्ट भइसकेको छैन।