Kath khabar
निर्धन उत्थानद्धारा कोरोना रोकथामको लागि दुई करोड १५ लाख रुपैयाँ सहयोग

काठमाडौं, वैशाख २२ । निर्धन उत्थान लघुवित्त बित्तीय संस्थाले कोरोना संक्रमण रोकथामको लागि दुई करोड १५ लाख ३१ हजार चार सय आर्थिक अनुदान सहयोग प्रदान गरेको छ । संस्थाले देशको सातै प्रदेश ७७ वटै जिल्लामा एक सय ८१ शाखा कार्यालय स्थापना गरी ग्रामीण क्षेत्रमा प्रभावकारीरूपले वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गरिरहेकोमा कोभिड-१९ सक्रमणको दोस्रो लहर दिनानुदिन बढ्दो क्रममा देखिएको र संस्थाका ग्राहक सदस्यहरू पनि प्रभावित भएकोले निजहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा र सतर्कता सम्बन्धी सामाग्री प्रयोग गरी व्यवसायको सुरक्षणएवं निरन्तरता दिन आपतकालीन अवस्थामा संस्थाका सवै शाखाकार्यालय मार्फत संस्थामा आवद्ध भएका सवै ग्राहक सदस्यहरूले उपयोग गर्ने गरी दुई करोड १५ लाख ३१ हजार चार सय  रुपैयाँ आर्थिक अनुदान सहयोग प्रदान गरेको जानकारी दिएको छ । 

यसरी प्रदान गरिएको रकमबाट संस्थामा आवद्ध सबै ग्राहक सदस्यले विषम परिस्थितीमा समेत आवश्यकता अनुसार छिटो/छरितो आवश्यक स्वास्थ्य सतर्कता सामाग्री सावुन, सेनिटाइजर, मास्क लगायतका स्वास्थ्य सामाग्री खरिद गरी कोराना भाइरसबाट सुरक्षित हुन ठूलो सहयोग पुग्ने संस्थाले विश्वास लिएको छ । संस्थाले आर्थिक वर्ष २०७६/०७७ मा कोरोना भाइरस महामारीको प्रतिकूल अवस्थाको कारण ग्राहक सदस्यहरूका परियोजना आशिंकरूपमा बन्द भएकोले त्यस्ता ग्राहक सदस्यहरूलाई दुई करोड नौ लाख २९ हजार सात सय व्यवसाय पुनस्र्थापनाको लागि राह तथा अनुदान प्रदान गरेको थियो ।

 कोभिड-१९ को संक्रमणका कारण सृजित विषम परिस्थितीको कारणले संस्थाका ऋणी सदस्यहरूको व्यवसाय सञ्चालन सहज रूपमा संचालन हुन नसकेकोले आंशिक वा पूर्णरूपमा व्यवसाय बन्द भएका एक सय ८१ शाखा कार्यालयहरूका समस्यामा परेका तथा अति प्रभावित सात हजार दुई सय ५० ऋणी सदस्यहरूलाई संस्थाले चालू आ.व. २०७७/०७८ को २०७७ भाद्र माहिनामा प्रति ऋणी सदस्य १० हजार रुपैयाँका दरले सात करोड २५ लाख रूपैया व्यवसाय पुन:स्थापनाको लागि आर्थिक अनुदान प्रदान गरेको जनाएको छ । 

देशमा रहेको आर्थिक, सामाजिक तथा मानसिक गरिबी र त्यसबाट सृजित असमानता कम गर्ने उद्देश्यले स्थापना भएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले २०७७ चैत्र मसान्तसम्म तीन लाख ७८ हजार चार सय ५८ विपन्न गरीव परिवारलाई प्रभावकारीरूपले वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गरिरहेको छ । संस्थाले समस्यामा परेका ऋणीको व्यवसाय सुरक्षण एवम् पुनस्थार्पना गर्न तथा ग्राहकहरूको शिक्षा तथा क्षमता विकास गर्नको लागि ग्राहक सदस्यहरूलाई समय परिस्थिती र आवश्यकता अनुसार समय समयमा आकस्मिक राहत तथा अनुदान प्रदान गर्दै आईरहेको संस्थाले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update