काठमाडौं, मंसिर १२। महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट, विभिन्न मितिमा हराएका २३ थान मोटरसाइकल तथा स्कुटरहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा १५ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीहरूलाई जिम्मा लगाइएको हो । महाशाखाले गत कार्तिक महिनामा पनि २३ वटै मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको थियो ।
महाशाखाले उपत्यका र आसपासका चक्रपथ, नयाँ बानेश्वर, बसुन्धारा, पुरानो बानेश्वर, नारायणटार, नागार्जुन, सातदोबाटो, कोटेश्वर, काडाँघारी, कंलकी, भैँसेपाटी, भिमसेनगोला, गंगालाल, लोकन्थली, कपन, सानेपा, माकलबारी, मंगलबजार, टोखा, बिजेश्वरी, र चागल स्वयम्भु लगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाउनुभएको हो ।
महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले बिशेष सुचना संकलन तथा सुराकी मार्फत ती मोटरसाइकल बरामद गरेको एसएसपी भट्टराईले जानकारी दिनुभयो । सवारी हराएको थाहा पाउनासाथ हटलाईन नम्बर ‘१०३’ वा अनलाइन सेवा ‘लस्ट भेहिकल एप्लिकेशन’ लगइन गरेर निवेदन दिन सकिन्छ । सवारीको सुरक्षाका लागि अतिरिक्त लक र अलाराम प्रयोग गर्न महाशाखाले सवारी प्रयोगकर्तालाई अपिल गरेको छ ।
यस आर्थिक वर्ष ०७८/७९ मा हराएका १७६ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ भने मोटरसाइकल चोरीमा संलग्न २१ जनालाई चोरीका मोटरसाइकल सहित सम्बन्धित प्रहरी बृत्तहरुमा कारबाहीको लागी पठाएको समेत महाशाखाले जनाएको छ ।