Kath Khabar
के तपाईँलाई प्रोस्टेट ग्रन्थी, मृगौला, पत्थरी लगायतका समस्या छ ?

 

काठमाडौं, मंसिर १३। थापाथलीस्थित नर्भिक इनटरनेशनल हस्पिटलमा आगामी शनिवार दुई विशेषज्ञ चिकित्सकहरूले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएका छन् । नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. यादव ढकाल र वरिष्ठ युरोलोजिस्ट डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले निःशुल्क ओपिडी सेवा दिनुहुने भएको हो ।

विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा. ढकालको ओपिडीबाट लाभ लिनसक्नेछन् । यस्तै, प्रोस्टेट ग्रन्थी, मृगौला, मूत्रनली, मूत्रथैलीमा पत्थरी भएका लगायतका समस्या भएका बिरामीहरूले डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमको ओपिडीबाट लाभ लिन सक्नुहुनेछ । डा. श्रेष्ठसँगै डा. सञ्जिव श्रेष्ठ लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू समेत रहनेछन् । शनिवारको निःशुल्क ओपिडीमा सहभागी हुने बिरामीको शल्यक्रिया गर्नुपरेमा उहाँहरूलाई सहुलियत दरको व्यवस्था मिलाइने समेत नर्भिक अस्पतालले जनाएको छ ।

शनिवार बालरोग विशेषज्ञ डा. ढकालले बिहान १० देखि १२ बजेसम्म र डा. श्रेष्ठ नेतृत्वको युरोलोजी टिमले बिहान १० बजेदेखि ११ बजेसम्म निःशुल्क ओपिडी सञ्चालन गर्नुहुने छ । नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवालाई सञ्चालन गर्दे आएको छ । निःशुल्क ओपिडी सेवामा सर्वसाधारणको आकर्षण रहेको छ ।

निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ ।


 

 

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update