काठमाडौं, मंसिर १४। दक्षिण अफ्रिकामा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले फेरि एकपटक जनताको चिन्ता बढाएको छ । विज्ञहरूले यो भेरियन्ट दोस्रो लहरको डेल्टा भेरियन्टभन्दा बढी संक्रामक हुन सक्ने दाबी गरेका छन् । कोरोना भाइरसको नयाँ संस्करण B.1.1.529 (Omicron) विश्वसामु नयाँ समस्या बनेको छ । डब्ल्यूएचओले यसको बारेमा चिन्ता व्यक्त गरेको छ ।
ओमिक्रोन भेरिएन्ट कति खतरनाक छ?
दक्षिण अफ्रिकालगायत अन्य देशमा ओमिक्रोन संक्रमणको प्रारम्भिक विश्लेषणका आधारमा यसलाई डेल्टा भेरियन्टभन्दा ६ गुणा बढी शक्तिशाली मानिएको छ । यसले प्रतिरक्षा प्रणालीलाई पनि छल गर्न सक्छ। न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार ओमिक्रोन अघिल्लो संस्करणहरू भन्दा धेरै संक्रामक छ र खोप वा प्राकृतिक संक्रमणबाट प्रतिरक्षा प्रतिक्रियालाई पनि बेअसर गर्छ।
ओमिक्रोन संक्रमणको लक्षण के हो?
दक्षिण अफ्रिकामा ओमिक्रोन भेरियन्ट पहिचान गर्ने पहिलो व्यक्ति डाक्टर एन्जेलिक कोएत्जीले भन्नुभएको छ, ‘मैले पहिलो पटक करिब ३० वर्षका युवामा यसको लक्षण देखेँ।’ बिरामी निकै थकित हुने गरेको उहाँले बताउनुभयो । हल्का टाउको दुख्नुका साथै शरीर दुखेको उहाँको गुनासो थियो । उहाँलाई हाछ्युँ आउने जस्ता समस्या पनि थियो । तर, उहाँलाई न त खोकी लागेको थियो न त स्वाद र गन्ध गुम्ने जस्ता लक्षण देखिएको थियो । डाक्टरले बिरामीको सानो समूहलाई हेरेपछि मात्र यस्तो प्रतिक्रिया दिएका थिए। धेरै जसो मानिसहरूमा यसको लक्षणहरू कस्ता हुनेछन् भनेर उहाँले कुनै स्पष्ट दाबी गर्नुभएको छैन।
डा. कोएत्जेले दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ संस्करणबाट संक्रमित व्यक्ति भेटिएपछि आफ्नो सम्पूर्ण परिवारको जाँच गरेको बताउनुभयो । दुर्भाग्यवश, परिवारका सबै सदस्यहरू संक्रमणको चपेटामा थिए। तर, सबै संक्रमितमा निकै हल्का लक्षण देखिएको थियो। डा कोएत्जेले हल्का लक्षण भएका बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने आवश्यकता नरहेको बताउनुभयो। यस्ता बिरामीको घरमै उपचार गर्न सकिन्छ ।
दक्षिण अफ्रिकामा देखिएको खतरनाक ओमिक्रोन भेरियन्ट अहिलेसम्म धेरै देशहरूमा फैलिसकेको छ ।