काठमाडौं,मंसिर १४ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रसुवागढी र सान्जेन जलविद्युत आयोजनालाई अबको ७÷८ महिनाभित्रमा सम्पन्न गर्न निर्देशन दिनु भएको छ ।
माथिल्लो सान्जेनको बाँध, बालुवा थिग्य्राउने पोखरी, सुरुङलगायतका सिभिल संरचनाको निर्माण र गेट, पेनस्टक पाइपजस्ता हाइड्रोमेकानिकल उपकरणहरु जडान सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण प्रगति ९१ प्रतिशत छ ।
माथिल्लो सान्जेनको क्यासकेडको रुपमा रहेको सान्जेनको सुरुङ,सर्जट्याङ खन्ने कार्य सम्पन्न भई त्यसलाई अन्तिम रुप दिने काम भइरहेको छ । विद्युतगृहका उपकरण रहने संरचनाहरुको निर्माण सम्पन्न भइसकेको छ । सान्जेनको समग्र निर्माण प्रगति ८३ प्रतिशत छ ।
त्यसैगरि रसुवागढी जलविद्युत आयोजनाको मुख्य सिभिल संरचनाको निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरणहरुको ठेकेदारले आफ्नो काम आगामी चैतभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
इलेक्ट्रोमेकानिकलको ठेकेदारका कारण आयोजनाको निर्माण प्रभावित भएको हो । इलेक्ट्रोेमेकानिकलका ९९ प्रतिशत उपकरणहरु आयोजनास्थलमा आइसकेका छन् भने अहिले जडान कार्य भइरहेको छ ।
दुवै आयोजनाका इलेक्ट्रोमेकानिकल उपकरणहरुको उत्पादन, जडान, परीक्षण सञ्चालनको ठेक्का पाएको कम्पनीका प्राविधिकहरु चीनबाट आउन नसक्दा काम प्रभावित भएको छ । निरन्तरको प्रयासपछि चिनियाँ प्राविधिकहरु मंगलबार नेपाल आउन लागेको र त्यसपछि चिनियाँ तथा नेपाली प्राविधिकहरुले उपकरणहरु जडान सुरु गर्ने छन् । प्रसारण लाइनको टावरहरु निर्माण भइसकेका छन् भने तार टाँग्न बाँकीे छ ।
चिलिमे तथा त्रिसूली थ्री बी हब सबस्टेसन र चिलेमी–त्रिसूली थ्री बी हब सबस्टेसनको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यही प्रसारण लाइनमार्फत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ ।
चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन निर्माण तिब्र गतिमा बढे मुलुकले बाहिरबाट बिजुली आयात गर्न कम हुनेछ । जसका लागि पनि प्राधिकरणले यि आयोजनामा तिब्रता दिएको हो ।