काठमाडौं, मंसिर १५ । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम बढेको भन्दै सिक्किम सरकारले विदेशी पर्यटकका लागि सिक्किम प्रवेशमा बुधबारदेखि रोक लगाइएको छ।
सरकारले बुधबार बिहान ६ बजेदेखि लागू हुनेगरी डिसेम्बर १५ सम्म विदेशी पर्यटकलाई सिक्किमा प्रवेशमा प्रतिबन्ध लगाएको हो। राज्यको गृह विभागले मंगलबार एक सूचना जारी गर्दै सिक्किम भ्रमणमा आउने विदेशी पर्यटकलाई इनर लाइन पर्मिट, रेस्टिक्डेट एरिया पर्मिट र प्रोटेक्टेड एरिया पर्मिट जारी नगरिने बताएको हो।
गृह विभागले पर्यटन विभागलाई पत्राचार गर्दै सिक्किम घुम्न आउने कुनै पनि विदेशी पर्यटकलाई प्रवेश नदिन र कुनै पनि पर्मिट जारी नगर्न आदेश दिएको हो। यस्तै सिक्किम सरकारले राज्यमा प्रवेशका लागि बनाएका अन्य नियम यथावत् राखेको छ।
कोरोना संक्रमण कम भएपछि सिक्किम घुम्न आउने देशी–विदेशी पर्यटकको घुइँचो लागिरहेको बेला सरकारले सम्भावित खतरा रोक्न भन्दै प्रवेशमा रोक लगाएको हो। नेपाल र भारतमा यसरी विदेशी पर्यटकलाई प्रवेशमा रोक लगाउने नेपाली मुलका सिक्किमले पहिलो हुन् ।
नेपाल सरकारले पनि नाकाहरु कडाइ गर्ने विषयमा बैठक गर्दै आएको छ । ओमिक्रोन संक्रमण फैलन नदिनेको लागि विभिन्न मुलुकहरुले यात्रा प्रतिवन्ध लगाउने तयारी गरेको छ ।