Kath Khabar
फिल्म ‘लाखे’ मा मल्टिस्टार कलाकार, केही कलाकार अडिसन मार्फत लिने 

काठमाडौं, मंसिर १६ । फिल्म ‘लाखे’ निर्माण हुने भएको छ । ‘पासवर्ड’ निर्देशक सम्राट बस्नेतले मल्टिस्टार कलाकार लिएर फिल्म बनाउन लाग्नुभएको हो । 
फिल्मका लागि सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायतका कलाकार फाइनल हुनुभएको छ । फिल्मका लागि अझै केही कलाकार छनौटको क्रममा छन् । बाँकी कलाकार अडिसन मार्फत छनौट हुने निर्देशक बस्नेतले बताउनुभयो । ‘प्रतिभा भएरपनि अभिनय अवसर नपाएका र कलाक्षेत्रमा करियर बनाउन चाहनेलाई अवसर दिन अडिसन गर्न लागिएको हो’ निर्देशक बस्नेतले भन्नुभयो ‘अडिसनले फिल्म क्षेत्रमा नयाँ तथा प्रतिभावान् व्यक्ति पाउँछ भन्ने विश्वास छ ।’ फिल्मको करिव आधा दर्जन चरित्रका लागि कलाकार अडिसनमार्फत छान्न लागिएको हो ।

निर्देशक बस्नेतका अनुसार फिल्मका लागि १८ देखि २४ वर्षसम्मको एक मुख्य अभिनेत्री, ८ देखि १० वर्षको एक बालकलाकार, १७ देखि २४ वर्षसम्मको एक महिला कलाकार र २६ देखि ५० वर्षसम्मको १० पुरुष सहायक कलाकार छानिनेछ । कलाकार छनौटका लागि अडिसन आगामी शनिबार अर्थात मंसिर १८ गते कान्तिपुर फिल्म एकेडेमीमा बिहान ११ :३० बाट राखिएको फिल्मका कार्यकारी निर्माता हरि मल्ल ठकुरीले जानकारी दिनुभयो । अडिसन फिल्ममा करियर बनाउन चाहने जो कोहीले दिन सक्नुहुने छ । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रालि र औरियन प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुनुहुन्छ । कथा समेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरीको प्रस्तुतकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहनुभएको छ ।

ठुलो बजेटमा निर्माण हुने बताइएको फिल्मको नाम ‘लाखे’ राखिएपनि नेपाली संस्कृतिमा रहेको लाखे परम्परा विषयवस्तुमा पुरै नसमेटिएको निर्देशक बस्नेतले बताउनुभयो । ‘नेपालको संस्कृतिमा रहेको ‘लाखे’ परम्पराको प्रचार गर्ने उदेश्यले फिल्मको नाम लागेको जुर्याइएको हो’ निर्देशक बस्नेतले भन्नुभयो । फिल्मको छायाँकन पुसबाट सुरु हुनेछ । 


 

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update