भक्तपुर, मंसिर १८ । भक्तपुरका युवा खेलाडी निकेन कुसाथाले धाडिङ दोस्रो ओपन र्यापिड चेस प्रतियोगितामा जित हात पार्नु भएको छ । धाडिङ बुद्धिचाल संघको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन उहाँले नेपाल पूर्वच्याम्पियन केशव श्रेष्ठलाई पराजित गर्नु भएको हो ।
केशवले एक चालको मेट नदेख्नु हुदाँ भक्तपुरका युवा खेलाडी निकेनसँग पराजित हुन पुग्नु भयो।
यद्यपि अन्य तीन खेलमा जितका साथ तीन अंक जोडेका केशव दोस्रो स्थानमा हुनुहुन्छ । चार खेलमा समान दुई जित र हार सामना गरेका निकेनको दुई अंक छ।
शुक्रबारकै अन्य खेलमा सफलता प्राप्त गर्दै झापाका प्रकाश नेपाल शीर्ष स्थानमा हुनुहुन्छ । उहाँले चार खेलमा तीन जित र एक बराबरी खेल्दै ३.५ अंक जोडनु भएको छ।
नेपाल पूर्वच्याम्पियन मनीष हमाल र क्षितिज भण्डारी समान ३.५ अंक नै बनाउँदै प्रकाशलाई पछ्याइरहनु भएको छ । नेपालका शीर्ष ४२ खेलाडीले प्रतियोगितामा चुनौती प्रस्तुत गरिसकेका छन्।
चार चरणको समाप्तिसम्म नेपाल पूर्वच्याम्पियन नवीन तण्डुकार,ललितपुरका सजिन महर्जन, रूपेश जैसवाल, सुश्रुत दाहाल,आशिष फुँयाल, झापाकै राजन सुवेदी, भक्तपुरका भेट्रान खेलाडी गणेशमान दुवाल र ललितपुरकै युवा खेलाडी सरोज महर्जनले समान तीन अंक बटुल्नु भएको छ । यी आठै खेलाडी केशवसंगै संयुक्त दोस्रो स्थानमा छन्।