Kath khabar
ढकालको नेतृत्वमा दमक चेम्वर अफ कमर्स गठन

मंसिर, मंसिर १८ । झापामा दमक चेम्बर अफ कमर्स गठन भएको छ । नेपाल चेम्वर अफ कमर्सको भगिनि संस्थाका रुपमा दमक चेम्बर अफ कमर्स जिल्ला कार्यसमिति गठन भएको हो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, कार्यसमिति सदस्य सन्तोष पाण्डे लगायत केन्द्रीय पदाधिकारीको उपस्थितीमा राजेन्द्र प्रसाद ढकालको अध्यक्षतामा ११ सदस्यीय  चेम्बर जिल्ला कार्यसमिति चयन भएको हो ।

चेम्वर अफ कमर्सको पहिलो साधरणसभाबाट अध्यक्षमा ढकाल, उपाध्यक्षमा अजय अग्रवाल, सचिवमा रामप्रसाद रिमाल, सहसचिवमा चन्द्रमायाँ निरौला, कोषाध्यक्ष सन्दिप साहेवाला निर्विरोध निर्वाचित हुनुभएको हो । सदस्यहरुमा यमपाठक, मैयादेवी आचार्य, नबिन सेँडाई, शम्भुप्रसाद खतिवडा, राजकुमार गुप्ता र खेमनाथ सापकोटा निर्वाचित हुनुभयो ।
पहिलो साधरणसभालाई उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले मुलुकलाई आत्मनिर्भर मुखी अर्थतन्त्र बनाउने चेम्बरको अभियानमा सहयोग गर्न नवनिर्वाचित कार्यसमितिलाई आग्रह गर्नुभयो । बाँझो जमिनको अधिकतम सदुपयोग गरेर उत्पादन वृद्धि र बजारीकरणमा जिल्ला कार्यसमितिले महत्वपुर्ण भूमिका खेल्न सक्ने उहाँको भनाई छ । अध्यक्ष मल्लले भन्नुभयो, ‘अहिले पनि ३० प्रतिशत बाँझो जमिन छ सरकारले बजेटमा पनि जनिम बाँझो नराख्ने भनेर भनिरहेको छ । स्थानीय प्रशासनसंग सहकार्य गरि कृषि उपजको उत्पादन र बजारीकरणमा धेरै काम गर्न सकिन्छ यसका लागि चेम्वर स्थानीय व्यवसायीसंग सहकार्य गर्न तयार छ ।’

मुलुकमा कृषिको आधुनिकीकरण र प्रविधिमा लगानी भित्र्याएर तिव्र आर्थिक विकास गर्नुपर्ने अध्यक्ष मल्लले बताउनुभयो । अर्थतन्त्रका अधिकांश सूचकहरु अहिले पनि नकारात्मक रहेको भन्दै अध्यक्ष मल्लले पूँजिगत खर्च बढ्ने हो भने तरलता अभाव नहुने बताउनुभयो । केन्द्र र स्थानीय तहमा खर्च हुन नसकेको रकम वाणिज्य वैंकहरुमा स्थानान्तरण गर्दिने हो भने पनि तरलता सिर्जना हुने अध्यक्ष मल्लले बताउनुभयो । एकल अंकमा व्याजदर कायम गर्ने र सिडी रेसियोलाई ९५ प्रतिशत पु¥याउनुपर्ने उहाँको भनाई छ ।
नवनिर्वाचित अध्यक्ष ढकालले स्थानीय आर्थिक श्रोतको पहिचान, उत्पादकत्व वृद्धि तथा बजारीकरणका लागि आफ्नो कार्यसमितिले काम गर्ने प्रतिवद्धता जनाउनुभयो । दमक कार्यसमिति गठन भएसंगै नेपाल चेम्बर अफ कमर्सको नगर जिल्ला कार्यसमितिको संख्या १ सय १० पुगेको छ ।

 

प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update