काठमाडौं, वैशाख २४ । कोरोनाका बिरामी अहिले अक्सिजन नपाएर छटपटाएका मात्रै होइन कैयन स्थानमा त प्राण नै गुमाएका छन् । के सरकारसँग पैसा नभएर खर्च गर्न नसकेको हो त ? हैन ।
जनताले खर्च गर भनेर बुझाएको राजस्व ढुकुटीमा थुपारेर बसेको सरकार जनतालाई अक्सीजन, बेड र क्वारेन्टीन दिन भने असफल भएको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख १८ गतेसम्ममा सरकारको ढुकुटीमा ९५ अर्ब ४९ करोड रकम छ । तेस्रो त्रैमासको तुलनामा चौथो त्रैमासमा बढि राजस्व उठ्छ । त्यसैले सरकारलाई अहिले रकम कसरी जोहो गर्ने भनेर चिन्ता लिनु पर्ने स्थान नै छैन । बरु रकम खर्चेर जनतालाई सेवा दिने उसको प्राथमिकता हुनुपर्ने । तर यसो हुन सकेको छैन ।
बिज्ञहरु यो रकमका हिसाबमा हेर्ने हो भने राज्य सुविधाजनक हिसाबमा रहेको छ । उसको प्राथमिकता अब सेवा हुनुपर्ने हो, तर सरकार रकम नै खर्चन असफल भएको छ । अर्थात अर्काे रुपमा भन्दा सरकारले सहि तरिकाले सेवा दिन चुकेको छ।
महामारी भएका कारण सरकारले चालु आर्थिक वर्षको बजेट स्वास्थ्यमा केन्द्रित गरेको थियो । तर यहि तालुकदार मन्त्रालयले अहिलेसम्म गरेको खर्च हेर्ने हो भने निराशाजनक देखिन्छ ।
यो वर्षका लागि स्वास्थ्य मन्त्रालयले ४२ अर्ब ८९ करोड रकम पाएको थियो । जसमध्ये १६ अर्ब ९४ करोड चालु खर्च भनेर छुट्टाएको थियो । यो अस्पतालका कर्मचारीलाई तालिम भत्ता, जनचेतनाका कार्यक्रममा खर्च हुने रकम हो । साथै बिपदमा खर्च गर्ने रकम पनि यहि हो । यसबाहेकको रकम आवश्यक परे फेरी अर्थमन्त्रालयसँग माग गर्नुपर्ने हुन्छ । यस्तो रकम मध्ये अहिलेसम्म सरकारले जम्मा ३९ दशमलव पाँच एक प्रतिशत रकम खर्च गरेको छ ।
यता अस्पताल तथा बेड निर्माणका लागि भनेर पनि १६ अर्ब नै रकम छुट्टाइएको थियो । जनताले बेड नपाएका समयमा भने मन्त्रालयले यस्तो रकम नै खर्चन सकेको छैन । बिनियोजित रकमको जम्मा अलिहेसम्म १२ दशमलव चार शुन्य प्रतिशत रकम मात्रै खर्चेको छ ।
कुल बजेट खर्च हेर्ने हो भने यो मन्त्रालयले अहिलेसम्म ३२ दशमलव एक एक प्रतिशत मात्रै खर्च गरेको छ । रकम नभएर होइन सरकारी निकायहरुले सेवा दिन चुक्दा जनताबाट उठएको कर र अन्य रकम ढुकुटीमा थुप्रिने जनता सेवाबाट बञ्चित हुने स्थिती आएको छ।