काठमाडौं, वैशाख २४ । सरकारले उपत्यकामा निषेधाज्ञाको समयमा अत्यावश्यकीय सामग्रीहरुको निःशुल्क होम डेलिभरीको व्यवस्था गरेको छ । मुलुकमा बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखी उपत्यका भित्र अत्यावश्यकीय सामग्रीहरुको निःशुल्क होमडेलिभरीको व्यवस्था गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।
काठ खबरसँगको कुराकानीको क्रममा खाद्यकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले निषेधाज्ञामा उपत्यकाका बासिन्दालाई दैनिक उपभोग्य सामग्री अभाव नहोस् भनेर हामीले चामल, दाल, तेल, सिमी, ग्यास लगायतका अत्यावश्यक सामग्री होम डेलिभरीको व्यवस्था गरेको बताउनु भयो । ‘हामीले मुलुकमा पहिलो पटक भएको बन्दाबन्दी देखि नै अनलाइन व्यापार र निःशुल्क होमडेलिभरी कार्यक्रम सञ्चालन गरेका थियौं’, उहाँले भन्नुभयो,‘ जुन अहिले सम्म पनि निरन्तरता दिएका छौं । चक्रपच भित्रको हकमा भने खाद्य र चक्रपथ बाहिरको हकमा भने हामीले निजी अनलाइन व्यापार गर्ने कम्पनीसँग सहकार्य गरी अघि बढेका छौं ।’
उहाँले अघि भन्नु भयो चक्रपथ भित्रको हकमा खाद्यले सञ्चालन गरेको ‘अनलाइन पोर्टल’ ‘नेपालफूड डटकम डट जिओभी डट एनपी’ र चक्रपथ बाहिरको हकमा भने निजी क्षेत्रको ‘सस्तो डिल’ ले निःशुल्क खाद्य समाग्री उपभोक्ता समक्ष पुराउने गर्छ । सरकारले निषेधाज्ञामा खाद्यन्न लगायतका अत्यावश्यक सामग्रीको आम नागरिकले समस्या नभोग्नु परोस् भनि तयारी गरेको पाईन्छ ।
उपत्यकाको उपभोक्तालाई हितलाई ध्यान दिई हाल नेपाल सरकारबाट जारी गरिएको निषेधाज्ञाको समयमा खाद्यले थापाथलीस्थित प्रादेशिक कार्यालय र नख्खु गोदमबाट बिहान ७ बजेदेखि बेलुका ७ बेजसम्म खाद्यान्नको बिक्रीवितरण समेत खुला गरेको जनाएको छ भने यसैगरी कम्पनीको रामशाहपथ र भक्तपुरको सूर्य विनायक बिक्री कक्ष बिहान ७ बजेदेखि ११ बजेसम्म खुल्ला गरिने जनाएको छ ।
यस्तै अधिकारी सुवेदीले पहिलो लकडाउनदेखि सुरु भएको अनलाइन सपिङ र निःशुल्क होमडेलिभरीको व्यवस्था निषेधाज्ञा अघि केहि सहज अवस्थामा समेत नियमित रहेको बताउनु भयो । ‘हामी निजी क्षेत्र जस्तो प्रतिस्पर्धी गर्ने निकाय होइन त्यसैले गर्दा सहज अवस्थामा आम नागरिकलाई हाम्रो सेवाको बारेमा थाहा भएन’, उहाँले काठ खबर सँग भन्नु भयो, ‘हाल असहज अवस्था भएको हुदाँ आम नागरिकले अहिले हाम्रो सेवा लिइरहेका छन् । सरकारले सहज/असहज दुवै अवस्थामा नागरिकको रक्षा गर्नु पर्ने हुन्छ सोहि लक्ष्य अनुरुप निषेधाज्ञामा हामीले आपूर्ति प्रणालीलाई सहज बनाएका छौं तर निजी क्षेत्रलाई सो दायित्व हुदैन ।’
उपत्यका बाहिरको हकमा पनि अर्थात् दुर्गम र सुगम दुवै स्थानको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य आपूर्ति तथा सहज ढुवानीको व्यवस्था समेत गरेको छ । यसैबीच मन्त्रालयले सुगम र दुर्गम जिल्लाको लागि आवश्यक पर्ने चामल, नुन, चिनी, गहुँ, धान लगायतका सामग्री मौज्दात रहेको जानकारी दिएको छ । सुगम जिल्लामा ८७ हजार पाँच सय ३८ क्विन्टल र दुर्गममा १३ हजार सात सय १२ मेट्रिक टन चामल, नून एक लाख, ५३ हजार मेट्रिक टन, चिनी ५० हजार मेट्रिक टन गहुँ ५ हजार क्विन्टल, धान एक लाख ७६ क्विन्टल मौज्दात रहेको छ । यस्तै ४८ हजार किलोलिटर पेट्रोलियम पदार्थ, ४६ हजार तीन सय ३२ मेट्रिक टन ग्यास आयात तथा आपूर्ति सहज रहेको छ । आयात सहज रहेको कारण खाद्यान्न, ग्यासलगायतका सामग्री अभाव नहुने बताइएको छ ।
यस्तै पछिल्लो समय जोगबनी, वीरगञ्ज, बेलहिया, जमुनाहा र नित्रनगर नाकाहरुबाट २९ वटा डिजेल टंयाकर, २१ वटा हवाई इन्धन टंयाकर, ११ वटा पेटेल टंयाकर, ६ वटा ग्यास बुलेट र ३ सय ५३ वटा मालबाहक सवारी साधन नेपाल भित्रिएको छ । यस्तै उपत्यकामा खाद्यन्न, तरकारी र मासुजन्य पदार्थ गरी करिब दुई सय वटा मालबाहक सवारी साधन भित्रिएको छ भने २ वटा अक्सिजनका टंयाकर भित्रिएको छ ।
निषेधाज्ञााको समयमा अत्यावश्यक खाद्य सामग्री, स्वास्थ्य उपकरण, औषधी लगायतका वस्तु तथा सेवाको उत्पादन, ढुवानी आपूर्ति र वितरण प्रणालीलाई सहज र सुचारु बनाउन द्रुत उद्धार टोली समेत निर्माण गरिएको छ । जसमा गृह, कृषि तथा पशुपन्छी र उद्योग मन्त्रालयका सहसचिवहरु रहेका छन् । नेपालमा कोरोना संक्रमणलाई रोक्न भन्दै पहिलो पटक २०७६ चैत ११ गतेदेखि मुलुकमा लकडाउन गरेको थियो ।