Kath Khabar
नेपालमा पनि भेटियो ओमिक्रोन भेरीयन्टको सङ्क्रमित



काठमाडौं, मंसिर २०। नेपालमा पनि ओमिक्रोन भेरीयन्टबाट सङ्क्रमित दुई व्यक्ति भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

सोमवार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सह-प्रवक्ता समीरकुमार अधिकारीले नेपालमा पनि कोरोनाभाइरसको ओमिक्रोन भेरीयन्ट भेटिएको जानकारी दिनुभयो। ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको उहाँले बताउनुभयो। उहाँहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो।

दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरीयन्ट अहिलेसम्म छिमेकी भारत सहित ४० भन्दा बढी देशहरूमा फैलिइसकेको छ। नयाँ भेरिअन्ट पुष्टि भएको देशबाट ६६ वर्षीय विदेशी नागरिक नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउँदा नियम अनुसार पिसिआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेको पाइएको थियो। उहाँसँग सम्पर्कमा आएका एक ७१ वर्षीय व्यक्ति र स्वयं आफैँलाई मङ्सिर ७ गते कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गर्दा पोजेटिभ आएको थियो ।

दुवै जनाको नतिजामा एस जिन फेला नपरेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको आनुवंशिक परीक्षणमा आइतबार ओमिक्रोन देखिएको मन्त्रालयले जनाएको छ। दुवैजना हाल आइसोलेसनमा रहेको र कुनै लक्षण नरहेको बताइएको छ। "उक्त दुई व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरूको बृहत् रूपमा कनट्याक्ट ट्रेसिङ गरिएको छ। उहाँहरूको सम्पर्कमा आएका सबै ६६ जनाको परीक्षण गर्दा सबैको नेगेटिभ आएको थियो र सबै स्वस्थ्य रहेको पाइएको छ," उहाँले बताउनुभयो। नेपालले विदेशबाट आउने हवाई यात्रुहरूलाई एन्टिजन परीक्षण गर्नुका साथै खोप नलगाएकाहरूलाई क्वारन्टीन अनिवार्य गरेको छ।

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update