काठमाडौं, मंसिर २१ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले खतराजन्य पदार्थ ओसारपसार गर्ने वायुसेवाको रूपमा अनुमति प्राप्त गरेको छ।
निगमको वाइडबडी र न्यारोबडी जहाजले खतराजन्य पदार्थ ओसारपसारको अनुमति पाएका हुन्। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको आइकाओ एनेक्स–१८ तथा डक ९२८४ मा उल्लेख भएका खतराजन्य पदार्थसम्बन्धी प्रावधान पूरा गरेपछि निगमले स्वीकृति पाएको हो। खतराजन्य पदार्थमा स्वास्थ्यसम्बन्धी उपकरण, विद्युतीय सामग्री, ब्याट्री, मोबाइललगायत सामग्री ल्याउन पाउने निगमका अध्यक्ष युवराज अधिकारीले बताउनु भयो।
राष्ट्रिय ध्वजावाहक वायुसेवामार्फत यस किसिमका सामान ढुवानी गर्दा व्यवसायीलाई सहज हुनुका साथै सरकारलाई बुझाउने राजस्व पनि तीन गुणाले वृद्धि हुने अनुमान रहेको पर्यटन मन्त्री प्रेम बहादुर आलेले बताउनु भयो।
‘ध्वजावाहक कम्पनीको जहाजले खतराजन्य सामग्री बोक्ने अधिकार पाएको छ। यो सफल पार्न सहयोग गर्नुहुने नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमलाई लाई हार्दिक धन्यवाद। व्यवसायीले मगाएका समान सिधै आउन सक्छ’,मन्त्री आलेले भन्नु भयो, ‘यात्रु नहुँदा पनि यी सामग्री ल्याउन पाउने भएका छौं। यसले निगमलाई माथि उठाउन थोरै भएपनि मद्दत पुग्नेछ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको उपस्थितमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले खतराजन्य पदार्थ ओसारपसार अनुमतिपत्र अध्यक्ष अधिकारीलाई हस्तान्तरण गर्नु भयो ।
६३ वर्षको निगमको इतिहासमा पहिलोपटक यस्तो मान्यता पाएकोमा आगामी दिनमा कार्गो सामानको ओसारपसारमार्फत विदेशी मुद्रा मुलुकमा भित्र्याउन मद्दत पुग्ने बताइएको छ। निगमको वाइडबडी जहाजको कार्गो बोक्ने क्षमता करिब १५ टन रहेकोमा खतराजन्य पदार्थअन्तर्गतका विभिन्न सामानको ओसारपसारले निगमको सेवा प्रभावकारितामा अभिवृद्धि हुने अपेक्षा छ।