Kath khabar
अखाद्य वस्तु भेटिएपछि बेकरी उद्योगमा ताला

बन्दीपुर, मंसिर २१ । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित एक बेकरी उद्योग जिल्ला प्रशासन कार्यालयले बन्द गराएको छ । सोमबार अनुगमनका क्रममा सडेगलेको र अखाद्य वस्तु प्रयोग गरेको भेटिएपछि रजनीश बेकरी उद्योग बन्द गराइएको हो ।

उद्योगले व्यवसाय दर्तासमेत नगरी सडेगलेको र अखाद्य वस्तुको प्रयोग गरी बजारमा बिक्री–वितरण गरेको भेटिएपछि ताला लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । उद्योगको अनुगमन गर्दा उद्योगभित्र सडेगलेको र अखाद्य वस्तुको प्रयोग गर्ने गरिएको भेटिएको थियो ।

चाडपर्वका बेला मात्र अनुगमन हुने गुनासो आएकाले प्रशासनले अन्य समयमा पनि अनुगमनलाई निरन्तरता दिएको बरालले बताउनुभयो । उहाँका अनुसार उद्योग सञ्चालकलाई प्रशासनमा उपस्थित हुन निर्देशन दिइएको छ । “अखाद्य र म्याद गुज्रिएका उपभोग्य वस्तु बिक्री हुने अवस्थालाई मध्यनजर गर्दै बजार अनुगमन निरन्तरता दिन्छौँ”, बरालले भन्नुभयो ।

बरालको नेतृत्वको टोलीले डुम्रेबजारका मिठाइ पसल, खाद्यान्न पसल, माछामासु पसल, तरकारी पसल र बीउबिजन र दाना पसलहरूको अनुगमन गरेको थियो । अनुगमनका क्रममा दर्ता नगरी व्यवसाय सञ्चालन गरिएको, दर्ता नवीकरण नगरिएको, म्याद गुज्रिएको उपभोग्य वस्तु बिक्रीयोग्य वस्तुसँगै राखिएको, लेवल नराखिएको, बीउबिजन र विषादी पसल एउटै ठाउँमा राखी बिक्री गर्ने गरिएको, अशुद्ध तेलमा खानेकुरा पकाई बिक्री गर्ने गरिएको भेटिएको थियो ।

मिठाइ पसलमा पनि सरसफाइको कमी देखिएको छ । दर्ता तथा नवीकरण नगरेका व्यवसायीहरूलाई समयमै दर्ता तथा नवीकरणका लागि आग्रह गरिएको घरेलु कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले बताउनुभयो । रासस

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update