Kath khabar
आफनै मापदण्ड कार्यान्वयन नगर्दा काठमाडौं महानगरभित्र पार्किङको समस्या बढ्दो

काठमाडौं, मंसिर २१। काठमाडौं महानगरपालिकाभित्र पार्किङको समस्या  बढ्दो  रहेको छ । महानगरले आफूले निर्माण गरेको मापदण्ड पालना नगर्दा पार्किङको लागि समस्या भएको हो ।

कामपाले पार्किङ समस्या समाधानको लागि ठूला महल तथा सर्पिङ कम्प्लेक्सलाई अण्डर ग्राउण्डमा अनिवार्य पार्किङ बनाउन पर्ने मापदण्ड तयार गरेको छ । तर, कार्यान्वयन गरेको छैन । महानगरमा धेरै व्यापारिक भवन छ तर महानगरले आफूले निर्माण गरेको मापदण्ड नबनाउदा समस्या भएको ताम्राकार कम्पलेक्सका व्यवसायीहरु बताउन हुन्छ । हामी सदैव व्यवसाय सञ्चालन गर्नको लागि न्यूरोड नियमित आउन पर्छ तर पार्किङको समस्याले हैरान हुने गरेको उहाँहरुको भनाई छ ।

महानगरले हालसम्म पनि आफनो क्षेत्रभित्र रहेको धेरै मल तथा भवनहरुहरुको अन्डरग्राउण्डमा पार्किङ निर्माणको लागि निर्देशन दिन सकेको छैन । वरु अन्डरग्राउण्डमा पार्किङ नभएर रेष्टुरेन्ट तथा बार संचालनमा छन् । पार्किङस्थल भनेर बनाइएका ठाँउमा समेत खुलेआम व्यापार व्यवसाय संचालन भइरहँदा समेत महानगरका पदाधिकारीहरु मौन भएर बसेको देखिन्छ । आफैले तोकेको मापदण्ड कार्यन्वयन गराउन चुकेको महानगर त्यस्ता व्यापारिक भवनको समेत नक्सापास गर्ने गरेको छ ।

महानगर भित्र जम्मा तीन सय वटा  सवारीसाधन अट्ने पार्किङस्थल मात्रै रहेको छ । तर, यहाँको सवारीसाधनको घनत्व हेर्ने हो भने हजारौंको  मात्रामा रहेको छ । अर्कोतर्फ समस्या नै समस्या ग्रस्त महानगरमा सवारीसाधन पार्किङ गर्ने स्थान पाउन समेत मुस्किल छ । महानगर भित्र पार्किङ व्यवस्थित गर्नका लागि अघि बढे पनि त्यसमा सफल हुन नसकेको महानगर पदाधिकारीहरु स्वीकार गर्नु हुन्छ ।

विशाल बजार, न्यूरोड, दरबारमार्ग लगायत कामपाका ५ स्थानमा पार्किङ स्थलहरु छन् । ती पाँच पार्किङ स्थलमा दुईपाँग्रे र चार पाँग्रे गरेर कुन तीन सयमात्र सवारीसाधन पार्किङ गर्न सकिन्छ । विगत दुई वषदेखि स्मार्ट पार्किङको कुरा उठाई रहे पनि त्यो प्रभावकारी हुन सकेको छैन ।

काठमाडौंको मुटु भनेर चिनिने दरबारमार्गमा बनेको नयाँ वान दरबार मलमा जान सडकमा सवारी पार्किङ गरेर जानुपर्छ । यस मलको पार्किङस्थल भनेर बनाइएको अण्डरग्राउन्ड रेष्टुरेन्ट लयायत व्यवसाय संचालन भइरहेको छ । जुन भवन महानगरको भवन निर्माण तथा मापदण्ड विपरीत पार्किङरहित रहेको छ भने सो भवनको महानगरले नै नक्सापास गरेको छ । यसरी महानगरले आफनो मापदण्ड कार्यान्वयनमा आफैं चुक्दा महानगरका मुख्य व्यापारिक केन्द्र न्यूरोड, दरबारमार्गका साथै सम्पूर्ण क्षेत्रमा पार्किङको समस्या हुनु गएको छ । जसले गर्दा स्थानीयको दैनिक जीवनलाई समेत प्रभावित तुल्याएको छ ।

 


 

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update