पेरिस, मंसिर २२ । समूह चरणका सबै खेलमा जित निकाल्दै लिभरपुल च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुगेको छ । यो सँगै लिभरपुल युरोपेली च्याम्पियन्स लिगको समूह चरणका सबै ६ खेल जित्ने पहिलो इंग्लिस क्लब भएको छ । यसका लागि उसले समूह बी अन्तर्गत मंगलबार राति भएको खेलमा इटालियन क्लब एसी मिलानलाई २–१ ले पराजित गरेको हो ।
अवे मैदानमा भएको खेलमा लिभरपुलका लागि ३६ औँ मिनेटमा मोहम्मद सालह र ५५ औँ मिनेटमा ओरिजीले गोल गर्नु भयो । एसी मिलानका लागि तोमोरीले २९ औँ मिनेटमा एक गोल गर्नु भयो । जुन सान्त्वना गोल बन्न पुग्यो ।
६ खेलबाट १८ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा रह्यो । यस्तै पराजित भएको एसी मिलान चार अंकसहित पुछारमा रह्यो ।
समूह बी कै अर्को खेलमा एथ्लेटिको मड्रिडले एफसी पोर्टोलाई ३–१ ले पराजित गरेको छ । १० खेलाडीमा सीमित भएको एथ्लेटिको मड्रिडले ९ खेलाडीमा सीमित भएको एफसी पोर्टोलाई पराजित गरेको हो ।
एथ्लेटिकोका लागि ५६ औँ मिनेटमा एन्टोनी ग्रिजम्यान, ९० औँ मिनेटमा एन्जल कोरिया तथा इन्जुरी समयको दोस्रो मिनेटमा डी पलले गोल गर्नु भयो । ६७ औँ मिनेटमा कारास्कोले सिधै रातो कार्ड पाएर बाहिरएपछि १० खेलाडीमा सीमित भएको हो ।
एफसी पोर्टोका लागि इन्जुरी समयको छैटौँ मिनेटमा पाएको पेनाल्टीमा ओलिभिएराले एक गोल फर्काएका हुन् । ७० औँ मिनेटमा वेन्डेल र ७५ औँ मिनेटमा मार्चेसिनले सिधै रातो कार्ड पाएपछि पोर्टो ९ खेलाडीमा सीमित भएको थियो ।
विजयी भएको एथ्लेटिको मड्रिड सात अंकसहित दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुग्न सफल भएको छ । पाँच अंकसहित पोर्टो तेस्रो स्थानमा छ । एजेन्सी