Kath khabar
सल्यानका ५४ विद्यालयमा बालमैत्री कक्षा सञ्चालन

सल्यान, मंसिर २३ । यहाँका ५४ विद्यालयमा बालमैत्री कक्षा कोठा सञ्चालनमा ल्याइएको छ । बागचौर नगरपालिका तथा त्रिवेणी, कपुरकोट र सिद्धकुमाख गाउँपालिकामा रहेका ५४ विद्यालयमा १०४ बालमैत्री कक्षा कोठा सञ्चालनमा ल्याइएको हो ।

बालबालिकाको बसाई व्यवस्थापन सहज नहँुदा बालबालिका विद्यालय नजाने तथा विद्यालयमा सिकाइ व्यवस्थापनमा समेत असहज हुन थालेपछि विद्यालयमा बालमैत्री कक्षा कोठा सञ्चालन गरिएको हो । बालमैत्री कक्षा कोठा सञ्चालनमा आएपछि विद्यालयमा विद्यार्थीको चाप बढन थालेको विद्यालयले जनाएका छन् । रुम टु रिडको आर्थिक सहयोग तथा दलित विकास समाजको आयोजनामा बालमैत्री कक्षा कोठा सञ्चालनमा ल्याइएपछि बालबालिकामा पढ्ने र सिक्ने बानीको विकास भएको रुम टु रिडका जिल्ला अधिकृत बाबुराम पोखरेलले जानकारी दिनुभयो ।

“बालबालिकाको बसाई व्यवस्थापन असहज हुँदा बालबालिका पढ्न नरुचाउने भएकाले पनि उनीहरुको सिकाइ व्यवस्थापनमा सहज होस् भनेर विद्यालयमा बालमैत्री कक्षा कोठा सञ्चालन गर्न सहयोग गरका हौँ”, उहाँले भन्नुभयो ।

बालमैत्री कक्षा सञ्चालन गरेपछि विद्यालयमा बालबालिकाको उपस्थिति बढेको शारदा प्राथमिक विद्यालय चैवाङका प्रधानाध्यापक छविकुमार शर्माले जानकारी दिनुभयो । “बालमैत्री कक्षा सञ्चालनमा ल्याउँदा बालबालिकाको उपस्थिति मात्र राम्रो भएको छैन, बालबालिकामा सिकाइ व्यवस्थापनमा समेत सहज भएको छ, यसले बालबालिकामा रमाएर सिक्ने वातावरण सिर्जना गरेको छ”, उहाँले भन्नुभयो ।

यसलाई स्थानीय सरकारले अङ्गीकार गर्न सकेको अवस्थामा बालबालिकामा सिकाउने र सिक्ने वातावरण सहज हुने र शिक्षाको गुणस्तरमा सुधार आउने दलित विकास समाजका कार्यक्रम संयोजक टेकराज शाहीले जानकारी दिनुभयो । “जिल्लाका धेरै विद्यालयमा अहिले पनि बालमैत्री कक्षा कोठा सञ्चालनमा छैनन्, जसले गर्दा बालबालिकामा पठन पाठनको अवस्था समेत नाजुक रहेको छ, विद्यालयमा बालमैत्री कक्षा सञ्चालन गरेपछि मात्रै पनि शिक्षाको गुणस्तरमा सुधार आउने निश्चित छ”, शाहीले भन्नुभयो ।

रुम टु रिडद्वारा सञ्चालन गरिएको साक्षरता कार्यक्रम लागू भएका विद्यालयमा ३०० बाल पुस्तकालय स्थापना र प्रयोग गरिएको छ । यस्तै २२० शिक्षकलाई शैक्षिक तथा पुस्तकालयसम्बन्धी पेसागत क्षमता विकास र पाँच हजार २५० विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।रासस

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update