काठमाडौं, वैशाख २४ । गृह मन्त्रालयले विभिन्न जिल्लाबाट शुक्रबार १ हजार ८ सय १६ वटा अक्सिजन सिलिण्डर संकलन गरेको छ ।हालको अवस्थामा कोभिड उपचारको लागि आवश्यक पर्ने अक्सिजन आपूर्ति तथा वितरण प्रणालीलाई भरपर्दो एवं विश्वसनीय तुल्याउनु पर्ने भन्दै मन्त्रालयले अक्सिजन सिलिण्डर संकलन थालेको जनाएको छ । यस्तै मन्त्रालयका सह सचिव एवं प्रवक्ता जनकराज दाहालले अक्सिजन सिलिण्डर संकलनको लागि विभिन्न मन्त्रालयले सहयोग समेत गरेको बताउनु भयो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अक्सिजन अभाव हुन नदिन विभिन्न उद्योग, आयोजना तथा व्यक्तिका साथमा रहेका अक्सिजन सिलिण्डर जम्मा गर्ने कार्य भइरहेको छ । यस क्रममा प्रहरी प्रशासनको विशेष सक्रियता तथा कतिपय उद्योग, आयोजनाको स्वतः स्फुर्त प्रयासबाट अक्सिजन सिलिण्डर जम्मा भईरहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोभिड विरामीका लागि अति आवश्यक पर्ने अक्सिजन यसरी स्वतःस्फुर्त रुपमा उपलब्ध गराउनुहुने सबै उद्योग, व्यवसाय तथा व्यक्तिहरुलाई धन्यवाद व्यक्त गरेको छ ।
कोभिड बिरामीका लागि अति आवश्यक पर्ने अक्सिजन यसरी स्वतःस्फुर्त रुपमा उपलब्ध गराउनुहुने सबै उद्योग, व्यवसाय तथा व्यक्तिहरुलाई गृह मन्त्रालय विशेष धन्यवाद दिन चाहन्छ । साथै यसरी जम्मा हुन आएका अक्सिजन सिलिण्डर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रत्यक्ष संलग्नता र समन्वयमा वितरण गरिएको छ, अतः यस विषम परिस्थितिमा अक्सिजनको सहज आपूर्ति तथा न्यायपूर्ण वितरण प्रणालीमा गृह मन्त्रलायले समन्वयकारी भूमिका निर्वाह गरिरहेको हुँदा कोभिड उपचारको लागि यसको अभाव हुन नदिन र आपूर्तिलाई सहज बनाउन सबैले अस्पताल बाहेक अन्य प्रयोजनमा विभिन्न उद्योग, व्यवसाय, आयोजना तथा व्यक्तिसँग रहेका अक्सिजन सिलिण्डर स्वतःस्फुर्त रुपमा नजिकको अस्पताल वा सुरक्षा निकायमा उपलब्ध गराई कोभिड उपचार जस्तो मानवीय कार्यमा योगदान दिनुभई नेपाल सरकारको कोभिड-१९ को दोस्रो लहरको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार पद्दतिलाई प्रभावकारी तुल्याउने अभियानमा सक्रिय सहभागिताका लागि गृह मन्त्रालय सबैमा हार्दिक अपिल गर्दछ, विज्ञप्तिमा भनिएको छ ।
यस्तै कोभिडको दोस्रो लहरको संक्रमण दिनानुदिन वृद्धि हुदै गईरहेको सन्दर्भमा यसको व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण बन्दै गइरहेको छ, साझा शत्रुको रुपमा देखा परेको यस महामारीले हामी सबैलाई आक्रान्त पारेको सबैले महशुस गरिरहेको विषय हो । हालको अवस्थामा कोभिड उपचारको लागि आवश्यक पर्ने अक्सिजन आपूर्ति तथा वितरण प्रणालीलाई भरपर्दो एवं विश्वसनीय तुल्याउनु पर्नेछ। अक्सिजन अभाव हुन नदिने र यसको आपूर्ति व्यवस्थालाई भरपर्दो तुल्याउने कार्यमा गृह मन्त्रालय अत्यन्त सक्रियताका साथ लागि परेको छ, विज्ञप्तिमा अघि भनिएको छ ।
कोभिड संक्रमितलाई अक्सिजन अभाव नहोस् भनेर सरकारले उद्योगहरुमा मौज्दात रहेको अक्सिजन सिलिण्डर, लुकाएर राखेका सिलिण्डर खोजी गरी अस्पतालमा प्रदान गर्ने गरेको छ । यसैबीच उपत्यकाका अस्पतालहरुले अक्सिजन अभाव भइरहेको बताएको छ । सोहि क्रममा ललितपुरस्थित अल्का अस्पताल, (जाउलाखेल) ले विज्ञप्ति नै जारी गरेर अक्सिजन आपूर्तिमा समस्या आएको बताएको छ । यस्तै संक्रमित बढ्दै गएमा सरकारी र निजी दुवै अस्पतालहरुले संक्रमितको उपचार गर्न समस्या हुने बताँउदै आएका छन् । वीर अस्पतालले आफनै प्लान्टबाट दैनिक १ सय ५० सिलिण्डर अक्सिजन उत्पादन गर्दै आए पनि संक्रमति बढ्ेमा भने सो उत्पादन पर्याप्त नहुने जानकारी दिएको छ ।