Kath khabar
च्याम्पियन्स लिगको फाइनल तोकिएको भेन्युमा नहुने सम्भावना 

बेलायत, वैशाख २५ । म्यानचेस्टर सिटी र चेल्सि बीच टर्कीको इस्तानबुलमा हुने च्याम्पियन्स लिग फाइनल तोकिएकै स्थानमा हुने नहुनेमा शंका बढेको छ ।

 बेलायत सरकारले टर्कीलाइ यात्राका लागि रेड लिस्टमा राखेपछि च्याम्पियनस लिगको फाइनल अन्यौलमा  परेको हो ।  इङलिस टिम चेल्सि र सिटी बीच उपाधीका लागि २९ मे मा इस्तानबुलमा प्रतिस्पर्धा हुने तालिका छ । बेलायती सरकारले अतिनै आवश्यक परिस्थिती बाहेक टर्कीमा यात्रा गर्न कसैलाइ पनि अनुमति नदिइने प्रस्ट पारेको छ ।  रेड लिस्टमा समावेश भएका देशबाट आउने  ब्यक्तिले अनिवार्य होटल क्वारेन्टिनको पैसा तिर्नुपर्ने सरकारले जनाएको छ । यसको अर्थ समर्थकले टर्कीको भ्रमण गर्न पाउने छैनन् ।

अब फाइनल इङल्यान्डमानै सारिने संभावना उच्च बनेको छ । इङल्यान्डको फुटवल संघले युरोपियन फुटबल महासंघ संग छलफल गरिरहेको र खेल आयोजनाका लागि तयार रहेको बताएको छ । अन्तिम निर्णय युएफाले गर्नेछ । टर्कीमा पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढीरहेको छ । दैनिक संक्रमितको संख्याको आधारमा टर्की अहिले विश्वको चौथो मुलुक हो । टर्कीका संचारमाध्यमका अनुसार फुटबल संघले २५ हजार दर्शक क्षमताको रंगशालामा एक टिमका लागि कम्तीमा चार हजार टिकट विक्री गर्न अनुमति मागेको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update