काठमाडौं, मंसिर २८ । स्वदेशमा गुणस्तरीय शिक्षा सँगै रोजगारीको सुनिश्चीतता हुन नसक्दा विदेशीने मुलुक प्रत्येक वर्ष बढ्दै गएको छ । कामको खोजिमा मात्रै दैनिक १८ सय युवा र पढाइ सहित कामका लागि २ सय गरि दैनिक मुलुकबाट २ हजार युवायुवती बाहिरिने गरेका छन् ।
विगत २२ वर्षमा मुलुकबाट काम र उच्च शिक्षाको खोजिमा ४ लाख युवायुवतीहरु विदेश पलायन भएका छन् । विशेषगरी पछिल्लो समय जापानमा जाने विद्यार्थिहरु बढेका छन् ।
वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार यो वर्षको चार महिनामा मात्रै जापान जानका लागि ६ हजार ९ सय ९० युवायुवतीले ‘नो अब्जेक्सन् लेटर’ लिएका छन् । अमेरिकाका लागि भनेर २ हजार ७ सय र बेलायतका लागि २ हजार ९ सय ९० जनाले अनुमति लिएका छन् ।
साखाका प्रमुख तथा उपसचिव हरि प्रसाद निरौला भन्नुहुन्छ ‘ विशेषगरि अहिले जापानमा जानका लागि नो अब्जेक्सन् लेटर लिनको भिड छ, अन्य देशको तुलनामा यसमा पछिल्लो समय बिशेष आकर्षण बढेको छ । ’
यसरी उच्च शिक्षाका लागि मुलुकबाहिर जाने क्रम बढेसँगै मुलुकबाट बाहिरिने रकम पनि बढ्दै गएको छ । चालु आर्थिक वर्षको तीन महिनामा मात्रै मुलुकबाट पढ्न जानेहरुबाट मात्रै ८ अर्ब ९२ करोड रुपैयाँ बाहिरिएको छ ।
महामारीकाका कारण विदेश पढ्न जानेहरु ठप्प जस्तै हुँदा पनि विदेश गइसकेकाले जागीर गुमाएका कारण मुलुकबाट रकम बाहिरिन भने नरोकिएको राष्ट्र बैंकको भनाई छ ।
नेपालबाट अहिले १ सय ३ मुलुकमा पढ्नका लागि युवा बाहिरिने गरेको सरकारी आकडा छ । यसरी उच्च शिक्षाका लागि भनेर बिगत २२ वर्षमा ४ लाख १६ हजार युवायुवती विदेशीएका छन् ।
गत वर्षको कात्तिक मसान्तसम्म १४ हजार २५ जनाले बिदेश पढ्न जानका लागि अनुमति लिएकामा यो वर्षको सोहि अवधिमा १९ हजार ६ सय ७० जनाले यस्तो अनुमति लिएका छन् । अर्थात एक वर्षमा विदेश जानका लागि अनुमति लिनेको संख्या नै ४० प्रतिशतले बढेको छ ।
गुणस्तरीय शिक्षा र रोजगारीको अभावमा मुलुकबाट बाहिरिने रकम र युवाजनशक्तिको संख्या वर्षेनि बढ्दैछ । जसलाई कम गर्न राज्यले बेलैमा नीति तर्जुमा गर्न जरुरी छ।