Kath khabar
भारतमा भन्दा नेपालमा बढि महङ्गी, मजदुरलाई कमाएको पैसाले खानै मुस्किल

 

काठमाडौं, पुष १। भारतमा भन्दा नेपालमा महङ्गीको वृद्धि बढि देखिएको छ । २०७८ कात्तिकमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा ५.३२ प्रतिशत र सन् २०२१ नोभेम्बरमा भारतमा ४.९१ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

महँगी  तीब्र गतिमा बढि रहेका बेलामा दिनभरी मजदुरी गरेर बिहान बेलुका पोषक तत्व कम भएको तिहुन र भातै खान पनि गरिबलाई भने मुस्किल हुँदै गएको देखिएको छ। महङ्गीले थिचेका बेलामा गरिब कामदार तथा कर्मचारीले पाउने ज्याला भने जम्मा ३.७७ प्रतिशतले बढेको राष्ट्र बैंक बताउँछ । जबकी यही समयमा मूल्यवृद्धि ५.३२ प्रतिशतले बढेको छ । अर्थात कमाएको ज्यालाले अब मजदुरलाई खान समेत कठिन हुन लागेको देखिएको छ ।  

कात्तिक महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः ९.४४ प्रतिशत र ३.७७ प्रतिशतले बढेको छ। तर समग्र २०७८ कात्तिकमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.०३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ०.८५ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको एक रिपोर्ट अनुसार २०७८ कात्तिक महिनामा मूल्यवृद्धि ५.३२ प्रतिशत रहेको देखिएको छ । जबकी अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.०५ प्रतिशत रहेको थियो । कात्तिक महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.७३ प्रतिशत रहेको देखिएको छ ।

त्यसैगरी २०७७ कात्तिकको तुलनामा २०७८ कात्तिकमा घ्यू तथा तेल, २९.११ प्रतिशत, यातायात १२.३६ प्रतिशत, माछा तथा मासु १०.९१ प्रतिशत र गैर-मदिराजन्य पेय पदार्थ १०.७० प्रतिशतले भाउ बढेको नेपाल राष्ट्र बैकले जनाएको छ। २०७८ कात्तिकमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.६८ प्रतिशत रहेको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update