काठमाडौं, पुस १। नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको स्तरोन्नतिका लागि आइतबारदेखि चार दिनका लागि केबुलकार सेवा बन्द गर्ने भएको छ। जस अनुसार केबुलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ ।
मर्मत सम्भार सकिएपछि पुस ८ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुरुवात गर्ने कम्पनीले जनाएको छ । उक्त अवधिभरी केबलकार बटम स्टेसन र रेष्टुरेन्ट सेवा भने यथावत रहनेछ। कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागिएको हो । लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पाट्र्सहरु पाउनै मुस्किल हुँदै गएपछि यसलाई स्तरोन्नति गर्न लागिएको हो । साथै केबलकारको लठ्ठा, ग्रिप लगायतका उपकरणहरू पनि स्तरोन्नति गर्ने जनाइएको छ ।
चालु आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको छ । कम्पनीका अनुसार केबलकारको भवन, टावर, गोन्डोला, बुल ह्विल लगायत उपकरण भने साबिककै रहनेछ । यो सबै स्तरोन्नति सम्पन्न भएसँगै मनकामना केबलकार मुलुककै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको हुनेछ ।