काठमाडौं, पुष २ । देशबाट दैनिक १८ सय युवा कामको खोजीमा खाडी लगायतका मुलुकमा बाहिरिने गर्छन् । युवा जनशक्ति बाहिर पठाएर बस्तु आयात गरेर लगाएको करबाट मुलुक धानिएको छ।
त्यति मात्रै होइन, वर्षेनी ठूलो संख्यामा बौद्धिक जनशक्ति पनि विदेश पलायन हुने गरेको छ । यो जनशक्ति आफू मात्रै बाहिरिएको छैन । देशभित्रकै मुद्रा पनि बाहिर पठाएको छ । नेपालबाट अहिले १ सय ३ मुलुकमा पढ्नका लागि युवा बाहिरिने गरेको सरकारी आँकडा छ । यसरी उच्च शिक्षाका लागि भनेर विगत २२ वर्षमा ४ लाख १६ हजार युवायुवती विदेशिएका छन् ।
गत वर्षको कात्तिक मसान्तसम्म १४ हजार २५ जनाले विदेश पढ्न जानका लागि अनुमति लिएकामा यो वर्षको सोही अवधिमा १९ हजार ६ सय ७० जनाले यस्तो अनुमति लिएका छन् । अर्थात एक वर्षमा विदेश जानका लागि अनुमति लिनेको संख्या नै ४० प्रतिशतले बढेको छ ।
गुणस्तरीय शिक्षा र रोजगारीको अभावमा मुलुकबाट बाहिरिने रकम र युवा जनशक्तिको संख्या वर्षेनी बढ्दैछ । यसले अन्तत मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पार्नेछ जसका बारेमा नीति निर्माताहरु समयमै चनाखो हुन जरुरी छ ।
उच्च शिक्षाका लागि मुलुकबाहिर जाने क्रम बढेसँगै मुलुकबाट बाहिरिने रकम पनि बढ्दै गएको छ । चालु आर्थिक वर्षको तीन महिनामा मात्रै मुलुकबाट घुम्न र पढ्न जानेहरुबाट १९ अर्ब बाहिरिएको छ । त्यसमा पनि उच्च शिक्षाको लागि मात्रै १० अर्ब १५ करोड बाहिरिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार मुलुक अहिले १ खर्ब ५१ अर्बले सोधानान्तर घाटामा छ । मुलुक भित्रिने रकमको तुलनामा बाहिरिने रकम बढि भएसँगै यस्तो घाटा बढ्दै गएको हो । आयातका लागि मात्रै होइन विदेश घुम्न तथा पढ्न जानेहरुबाट बाहिरिने रकम समेत बढ्दै गएकाले सोधानान्तर घाटा बढेको हो । चालु आर्थिक वर्षका चार महिनामा मात्रै यसरी पढ्न तथा घुम्न जानका लागि बाहिरिने रकम गत वर्षको सोही अवधिको तुलनामा १ सय ३७ प्रतिशतले वृद्धि भएको छ ।
विदेशबाट घुम्न आउनेहरुबाट ६ अर्ब रकम प्राप्त भएकोमा घुम्न तथा पढ्न जानेहरुबाट भने १९ अर्ब बाहिरिएको छ ।