Kath khabar
खेलाडीलाई गरिएको कारबाहीमा पुनर्विचार गर्न खेलकुद मन्त्री अथकको आग्रह


काठमाडौं, पुस २। युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले क्रिकेट खेलाडीलाई गरिएको कारबाहीमाथि पुनः बिचार गर्न आग्रह गर्नुभएको छ । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूलाई मन्त्रालयमा बोलाएर मन्त्री अथकले कारबाहीको निर्णयमाथि पुनर्विचार गर्न आग्रह गर्नुभएको हो ।

क्रिकेट खेलमार्फत नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरूलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भएको भन्दै मन्त्री अथकले खेलाडीहरूलाई संरक्षण गर्नुपर्ने बताउनुभयो । क्यान र खेलाडी बिच देखिएको समस्या समाधानका लागि उपर्युक्त विधि अपनाउनुपर्ने बताउँदै मन्त्री अथकले  खेल क्षेत्रमै आफ्नो ऊर्जावान् समय खर्चिएका खेलाडीहरूलाई गरिएको कारबाहीले गलत सन्देश प्रवाह भएको भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो ।

मन्त्री अथकले आगामी दिनमा हुन गइरहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गर्दै तत्काल देखिएका समस्या समाधान गर्न क्यानका अध्यक्ष चतुर बहादुर चन्द सहितका पदाधिकारीहरूलाई निर्देशन समेत दिनुभएको छ । त्यसक्रममा मन्त्री अथकले खेलाडीहरूको वर्गीकरण प्रक्रियाका विषयमा समेत चासो लिनुभएको थियो ।

गत मंसिर २९ गते नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको थियो । उक्त निर्णयप्रति मन्त्री अथकले असन्तुष्टि जनाउँदै कारबाहीको निर्णयमाथि पुनर्विचार गर्न आग्रह गर्नुभएको हो ।


 

प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update