काठमाडौं, पुस ३। सरकारले वैदेशिक रोजगारको क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली (र्यापीड रेस्पोन्स टिम) गठन गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशकको प्रत्यक्ष अनुगमनमा रहने गरी तथा सम्बन्धित अन्तर्निकायको प्रतिनिधित्व हुने गरी शीघ्र प्रत्युत्तर टोली (र्यापीड रेस्पोन्स टिम) गठन गरिएको हो ।
वैदेशिक रोजगार विभागका निर्देशकको संयोजकत्वमा गठन गरिएको र्यापीड रेस्पोन्स टिममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्ड सचिवालय, नेपाल प्रहरीका प्रतिनिधि सदस्य रहनुभएको छ भने वैदेशिक रोजगार विभागका अनुसन्धान अधिकृत सदस्य सचिव रहनुभएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार सम्बन्धी आउने गुनासोलाई तत्काल निराकरण गर्न, राहत, उद्धार तथा क्षतिपुर्तिको सिफारिस गर्न तथा अन्तर निकाय समन्वयका लागि र्यापीड रेस्पोन्स टीम गठन गरिएको बताउनुभयो । र्यापीड रेस्पोन्स टिमले वैदेशिक रोजगार व्यवस्थापनमा कुनै सेवा प्रदायक निकाय, संघसंस्था तथा व्यक्तिले बदनियतपूर्वक काम गरिरहेको वा गर्न लागेको कुनै सूचना प्राप्त भएमा छानविन गर्न, आवश्यक निर्देशन दिन तथा थप अनुसन्धानका लागि सिफारिस गर्नेछ ।
वैदेशिक रोजगार सम्बन्धी कामलाई व्यवस्थित तथा मर्यादित बनाउने तथा कानुनको प्रभावकारी कार्यान्वयन गराउन र यस क्षेत्रमा आउने गुनासोको तत्काल सम्वोधन गर्न र्यापीड रेस्पोन्स टिमले काम गर्नेछ । वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित, सुरक्षित बनाउने क्रममा यस क्षेत्रको व्यवस्थापनमा सुधार गरी सुशासनको अभिवृद्धि गर्न र्यापीड रेस्पोन्स टीम गठन गरिएको मन्त्री श्रेष्ठको भनाइ छ । अहिले नेपाली युवाहरूको रोजगारीको प्रमुख स्रोतको रुपमा वैदेशिक रोजगारीले स्थान लिएको छ । तर यसक्रममा ठगिने, दुःख, हन्डर ब्यहोर्नु पर्ने र सुशासनका दृष्टिले समेत नकारात्मक चित्रण हुने गरेकोले यसको छवि सुधार्ने प्रयासका रुपमा शीघ्र प्रत्युत्तर टोली गठन गरिएको हो ।