Kath khabar
किन विवाह गर्दैनन् जापानीहरु ?


जापान, पुस ४। जापानमा अविवाहितको संख्या उच्च छ । सरकारी तथ्यांकअनुसार २० देखि ४९ वर्ष उमेरका करीब एक चौथाई मानिसहरु एकल छन् । यो उमेरका मानिसहरुले प्रायः विवाह गर्ने इच्छा त राख्छन् । तर पुरातन सामाजिक धारणा र बढ्दो आर्थिक दबाबका कारण विवाह बन्धनलाई झन-झन कठिन बनाइरहेको छ ।

विवाहको उमेरसम्मै अभिभावकसँग बसिरहेकाहरुलाई तत्कालै जीवनसाथी खोज्ने दबाब अलि कम हुने टोकियोस्थित चुओ विश्वविद्यालयमा समाजशास्त्रका प्रध्यापक मासाहिरो यामादाले भन्नुभयो । ‘आफ्ना शर्तहरु पूरा नगर्ने कसैसँग सम्बन्धमा रहनुलाई उनीहरु समयको बर्वादी ठान्छन्,’ उहाँले भन्नुभयो । अनि उनीहरु राम्रो विकल्पको लागि पर्खन पनि नसक्ने उहाँको भनाई छ । यस्ता मानिसहरुलाई उहाँले ‘परजीवित एकल’को संज्ञा दिनुभएको छ ।

‘मेरो छोरा निकै राम्रो सेल्सम्यान हो, ग्राहकहरुसँग व्यवहार गर्न उ निकै खप्पिस छ तर महिलाको मामिलामा भने उ निकै हिच्किचाउँछ,’ आफ्नो ४६ वर्षिय छोराका लागि सुहाउँदो बेहुली खोज्न टोकियोमा आयोजित एक म्याचमेकिङ पार्टीमा आएका एकजना ७४ वर्षिय वृद्धाले भन्नुभयो । उहाँका छोरा काममा यति धेरै व्यस्त छन् कि आफ्ना लागि आफैं पत्नि खोज्ने फुर्सद पनि छैन । जापानमा विवाह दर घट्नुमा हाइपरगामी मुख्य कारक रहेको आइची प्रिफेक्चरस्थित चुक्यो विश्वविद्यालयमा सामाजशास्त्रका प्राध्यापक शिगेकी माचुदाले भन्नुभयो । जापानी महिलाहरुले स्थिर रोजगारी भएको र आफूभन्दा उच्च शैक्षिक हैसियत भएका पुरुष खोज्ने गरेको गरेको उहाँ बताउँनुहुन्छ ।

महिलाहरुले आफूभन्दा थोरै आय भएको पुरुषसँग विवाह गर्ने अवधारणालाई स्वीकार नगरेसम्म अविवाहित पुरुष र महिलाको उच्च अनुपात परिवर्तन नहुने यामादा बताउँनुहुन्छ । धेरै जसो कैयौं पुरुषहरुले कार्यस्थलौ भावी श्रीमति भेट्टाउँछन् । तर जागिर धेरै नै अस्थीर हुने भएकोले उनीहरुबीच विवाह हुने सम्भावना भने कम हुन्छ । दोस्रो विश्व युद्धपछिको दशकहरुमा जापानले कामदारमार्फत आफ्नो अर्थतन्त्र पुनःनिर्माण गरेको हो । तर पछिल्लो समय यो प्रवृत्तिमा तीव्र गतिमा परिवर्तन आइरहेको छ र रोजगारीको सुरक्षा घट्दै गइरहेको छ । सन् १९९०को दशकको शुरु देखि अस्थायी र करारका कर्मचारीहरुको अनुपात करीब १५ प्रतिशतले बढेर ४० प्रतिशतभन्दा अलि तलल आएको श्रम मन्त्रालयको तथ्यांकले देखाएको छ ।

‘न्यून स्तरको आय अनि अस्थीर जागिरको संख्यामा भएको वृद्धि अनि कुनै पनि बेला जागिरबाट निकालिने भय आदिले गर्दा मानिसहरुले विवाह र परिवारको योजना बनाउनेबारे सोच्न सकिरहेका छैनन्,’ कर्मचारी संगठनमा करारमा काम गर्ने कर्मचारीहरुको प्रतिनिधित्व गर्ने शुचिरो सेकिनेले भन्नुभयो, ‘यी कर्मचारीहरुले जीवनसाथी भेट्टाउने आशा भएपनि न्यून रोजगारी सुरक्षा र आयका कारण पती वा पत्नी फेला पार्ने सम्भावना कम छ’ ।

सन् २०१७ मा ३० देखि ३४ उमेर समूहका १० मध्ये ६ जना तलबभोगी मात्रै विवाहित रहेको २०१९ मा सरकारले जारी गरेको अध्ययन प्रतिवेदनले देखाएको छ । सोही उमेर समूहमा करारमा काम गर्ने २२ प्रतिशत पुरुष मात्रै विवाहित भएको सो प्रतिवेदनले देखाएको छ । श्रीमान खोज्ने अनि आमाबाट टाढा जाने हिम्मत नभएको सो म्याचमेकिङ पार्टीमा आउनुभएकी एक ३८ वर्षिय महिलाले नाम उल्लेख नगर्ने शर्तमा बताउनुभयो । ‘कुनै पुरुषलाई भेट्ने खासै धेरै अवसर पाइन’ कार्यस्थलमा समेत धेरै जना पुरुष नभएको तर्फ औंल्याउँदै ति महिलाले भन्नुभयो ।

(जापानटाइम्सका लागि क्योउको हासेगावाले लेखेको लेखको भावानुवाद)

प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update