Kath khabar
बुस्टर डोजले ओमिक्रोनबाट ८५ प्रतिशत सुरक्षित


लन्डन, पुस ४। बेलायतका अनुसन्धानकर्ताहरूले कोभिडविरुद्ध खोपको बुस्टर डोज लगाएकाहरू ओमिक्रोन भेरिएन्टको संक्रमणबाट ८५ प्रतिशत सुरक्षित हुने जनाएका छन् ।

कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनमा खोपको प्रभावबारेको अध्ययनमा त्यस्तो नतिजा आएको वैज्ञानिकहरूको भनाइ छ । यस्तो सुरक्षा यसअघिका भेरिएन्टको तुलनामा केही कम हो । तर खोपको बुस्टर डोज लगाएका मानिसहरू ओमिक्रोन भेरिएन्टका कारण अस्पताल भर्ना हुनु नपर्ने नतिजाले देखाएको छ । लन्डनस्थित इम्पेरियल कलेजले उक्त अध्ययन गरेको हो । ओमिक्रोन भेरिएन्ट हाल विश्वभर तीव्र रूपमा फैलिइरहेको छ । पहिलो पटक दक्षिण अफ्रिकामा पुष्टि भएको यो भेरिएन्ट हाल विश्वका करिब ८० देशमा देखिइसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यो भेरिएन्टलाई जोखिमपूर्ण सूचीमा राख्दै थप सतर्कता अपनाउन आग्रह गरिसकेको छ ।

ओमिक्रोन कोभिड–१९ को हालसम्मकै उच्च रूपमा उत्परिवर्तित भेरिएन्ट हो ।अनुसन्धानकर्ताहरूले ओमिक्रोन भेरिएन्टबारे थप अध्ययनहरू जारी रहेकाले वास्तविक अवस्थाबारे अझै अनिश्चितता रहेको बताएका छन् । यो भेरिएन्टको र खोपको सम्बन्धबारे पत्ता लगाउन कोसिस गरिरहेको उनीहरूको भनाइ छ । खोपहरूले हाम्रो शरीरलाई कोभिडविरुद्ध कसरी जुध्ने भन्ने सिकाउँछन् । तर हाल प्रयोगमा रहेका कोभिड–१९ विरुद्धका खोपहरू ओमिक्रोन भेरिएन्ट संक्रमितका लागि भनेर बनाइएका होइनन् । जसका कारण यो भेरिएन्टका लागि ती खोपले अन्यमा जस्तो प्रभावकारी नहुने भएको हो ।

दुई मात्रा खोप लगाएका व्यक्तिमा एन्टिबडीको क्षमतामा २० देखि ४० प्रतिशतसम्म कमी आएको अध्ययनमा देखिएको हो । यसको अर्थ ओमिक्रोनविरुद्ध खोपको प्रभावकारिता कम हुनु हो । तर बुस्टर डोज लगाएको खण्डमा यस्तो प्रभावकारिता ८० देखि ८५.९ प्रतिशत देखिएको छ । तर डेल्टालगायत अन्य भेरिएन्टमा यस्तो प्रभावकारिता ९७ प्रतिशत छ ।

‘अझै एउटा अनिश्चितता के हो भने ओमिक्रोन भेरिएन्टका कारण रोग कति गम्भीर हुन्छ भन्ने बुझ्न कैयौं साता लाग्न सक्छ । त्यसैले सरकारले सम्भावित असरलाई मध्यनजर गर्दै योजना बनाइहाल्नु जरुरी छ,’ अनुसन्धानकर्ता आज्रा गनीले भनिन्, ‘हाम्रो अध्ययनले बुस्टर डोजको निकै महत्त्व रहेको पुष्टि गरेको छ ।’ बेलायतको खोप कार्यदलका पूर्वप्रमुख डा. क्लाइभ डिक्सले बुस्टर डोजको प्रभावकारिताबारे प्रारम्भिक नतिजाहरूमा केही अनिश्चितता रहेको बताउँछन् । ‘मुख्य कुरा पूरै विश्वका लागि अहिले र भविष्यमा पनि खोप आवश्यक छ,’ उनले भने ।पछिल्लो समय बेलायतका साथै फ्रान्स, जर्मनी, इटाली, स्पेन, पोर्चुगल, स्विडेन, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, आयरल्यान्ड, हंगेरी, ग्रिस, फिनल्यान्ड, पोल्यान्ड, टर्कीलगायत देशमा ओमिक्रोन संक्रमितको संख्या बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बेलायतमा मात्र ओमिक्रोन संक्रमितको संख्या २४ हजार ९ सय ६८ पुगेको छ । तीमध्ये १० हजार जना पछिल्लो २४ घण्टाको अवधिमा थपिएका हुन् । अघिल्लो दिन ३ हजार २ सय १ जना ओमिक्रोन भेरिएन्टबाट संक्रमित भएका थिए । यो संख्या अझै धेरै हुन सक्छ किनकि सबै प्रयोगशालाहरूले ओमिक्रोन पत्ता लगाउन सक्दैनन् भने कैयौं मानिसले परीक्षण नै गराउँदैनन् । संक्रमितको संख्या बढ्दै गएपछि बेलायतलमा खोपको बुस्टर डोज लगाउने कार्य तीव्र पारिएको छ । जसका कारण मानिसहरूमा भाइरससँग लड्ने एन्टिबडीको तह उच्च हुने र त्यसले भाइरसको मात्रा बढ्न तथा कोषहरूमा प्रवेश गर्न रोक्छ ।

त्यस्तै, फ्रान्सका प्रधानमन्त्री जँ कास्टेक्सले ओमिक्रोनको संक्रमण ‘बिजुली चम्केको गतिमा’ रहेको बताएका छन् । बेलायतमाथि यात्रा प्रावधानहरू कडा पार्नुअघि बोल्दै कास्टेक्सले संक्रमणको अवस्था यस्तै रहेको खण्डमा सन् २०२२ को सुरुमा स्थिति भयावह हुने बताए । त्यस्तै, जर्मनी, आयरल्यान्ड, नेदरल्यान्डलगायतले पनि यात्राका नियमहरूमा कडाइ गरेका छन् ।

प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update