चितवन, पुस ५। भरतपुरमा रहेको चितवन जिल्ला सहकारी संघ व्यवसायिक बन्दै गएको छ । तोरी मिल, पेट्रोल पम्प स्थापना तथा व्यवसाय सञ्चालनमा सहयोग लगायतको काम गर्दै संघ व्यवसायिक कार्यमा अघि बढ्दै गएको छ । दुई वर्ष अघि देखि साझा पेट्रोल पम्प मार्फत पेट्रोलियम पदार्थ बिक्री गर्दै आएको छ ।
संघका व्यवस्थापक विनोद खतिवडाले सहकारी संस्थाहरूको लगानीमा विगत दुई वर्षदेखि सो पम्प स्थापना गरिएको बताउनु भयो । जिल्लाभरका ३८१ संस्थाहरूले १० हजारदेखि २० लाख रुपैयाँ सम्म रकम पम्प सञ्चालनका लागि लगानी गरेको उहाँले जानकारी दिनु भयो । पम्पको क्षमता २ लाख ४ हजार लिटर रहेको छ । सो क्षमताले इन्धन आपूर्ति नभएको समयमा समेत एक साताको लागि पूर्ण रुपमा माग धान्न सक्छ । संघले २ वटा ट्यांकरद्वारा अमलेखगञ्जदेखि डिजल पेट्रोल ढुवानी गरेर बिक्रीवितरण गर्दै आएको छ ।
हालसम्म पेट्रोल पम्पमा छ करोड रुपैयाँ लगानी भइसकेको छ । विगतमा दैनिक ७ लाखको डिजल पेट्रोल बिक्री हुँदै आएकोमा हाल आएर दैनिक सरदर ३० लाखको बिक्री हुने गरेको व्यवस्थापक खतिवडा बताउनु हुन्छ। पेट्रोलपम्प एक बिगाहा क्षेत्रफलमा निर्माण गरिएको छ । पम्पसँगै निर्माण गरिएको २२ वटा व्यवसायीक सटर पनि छन् । पेट्रोलपम्पबाट वार्षिक १ करोड ३० लाख आम्दानी हुने संघको भनाई छ । संघले आगामी दिनमा चार्जिङ स्टेसन बनाउने योजना बनाएको छ ।
त्यसैगरी संघलाई व्यवसायिक रुपमा अगाडि बढाउने उद्देश्यसाथ २०३७ सालबाट तोरी मिल शुरु गरेको थियो । दैनिक दुई सय लिटर तेल संघले बाहिरी जिल्लाबाट भ्रमण गर्न आउनेहरुलाई बिक्री गर्दै आएको छ । ३ सय ५० रुपैयाँ प्रतिलिटर मूल्यमा चितवनमै शुद्ध तेल खपत हुन्छ तर संघले सहकारी संस्थालाई १० रुपैयाँ छुट दिने गरेको छ ।
पछिल्लो समयमा तोरीको मूल्यवृद्धि दोब्बर हुन भएको छ । ८ हजार रुपैयाँमा एक क्विन्टल तोरी पाइदैँ आएकोमा अहिले १६ हजार रुपैयाँ पर्ने गरेको छ । नयाँ मूल्य अनुसार प्रति लिटर तेलको तीन सय ८० रुपैयाँ पर्ने उहाँले बताउनु भयो । तर पनि संघले स्टक रहेकाले पुरानै मूल्यमा बिक्री गर्दै आएको छ ।
तोरी भारतबाट आयात गर्नु पर्ने वाध्यताका कारण तेलको मूल्यमा असर परेको हो । पुरानै प्रविधिबाट तेल उत्पादन भइरहेकाले आगामी दिनमा आधुनिक मेसिनबाट उत्पादन गर्ने योजना रहेको लेभलिङ, प्याकेजिङ गरेर प्रतिस्पर्धात्मक बजारमा ब्रान्डिङ तोरी तेल बिक्री गर्ने व्यवस्थापक खतिवडाले बताउनु भयो ।
संघले फलफूल तथा तरकारीको बजार पनि सञ्चालन गरिरहेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र यूएनडीपी अन्तर्गत सहकारी बजार विकास कार्यक्रम (सिएमडीपी) सँग साझेदारी गरी सहकारी बजार स्थापना गरेको हो । १० करोड लागतमा संचालन गर्नलागिएको बजारमा ७० प्रतिशत मन्त्रालय तथा सीएमडीपीको सहयोग रहेको छ । संघले बजार व्यवस्थापनका लागि आधुनिक भवन निर्माणको कार्य समेत अघि बढाइसकेको छ । भवन निर्माणका सहकारी बजार विकास कार्यक्रमबाट २ करोड ६० लाख १९ हजार र जिल्ला सहकारी संघले १ करोड ११ लाख ५१ हजार गरी ३ करोड ७१ लाख ७० हजारको कुल लागतमा निर्माण हुन लागेको हो ।
बजार विकास कार्यक्रम (सिएमडीपी) बाट छनौट भएका १२ वटा सहकारीमार्फत तरकारी तथा फलफूलको बजारव्यवस्थापन हुँदै आएको छ । अहिले पालिका तहमा नै बजार बनेको र त्यहाँ उत्पादन भएका तरकारी तथा फलफूल खपत नभए संकलन गरेर जिल्ला र राष्ट्रियस्तरमा विक्रिवितरण गर्ने योजना संघको छ ।
संघले सहकारी आवासगृह निर्माण, तोरीको तेलको ब्राण्डिङ्ग तथा तरकारी र फलफूको बजारीकरण गर्ने योजनालाई प्राथमिकतामा राखेको छ । संघको स्थापना २०१७ सालमा भएको थियो । सहकारी तथा सहकारी संघहरु विभिन्न समस्याले झेलिदाँ संघ भने व्यवसायिक सफलता हात पार्न सफल भएको छ ।