
काठमाडौं, पुस ५। शेयर बजार परिसुचक (नेप्से) मा पहिरो गएको छ । आज सोमबार नेप्से १७ दशमलव ९३ अंकले घटेर २३ सय ५८ दशमलव ८१ अंकमा सीमित हुँदा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३४ अंकले घटेर चार सय ५१ दशमलव १९ अंकमा सीमित हुन पुगेको छ । सोही आधारमा आज दुई सय ३१ वटा वटा कम्पनीहरूको ३७ हजार तीन सय ६७ पटकको कारोबारमा ५४ लाख ३९ हजार ८७ कित्ता शेयर खरिद बिक्री भएकाछन् । सोही खरिद बिक्रीका आधारमा आज कारोवार रकम दुई अर्ब ४६ करोड ४६ लाख ८९ हजार आठ सय ६३ रुपैयाँ पुग्न सफल भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकाछन् । जसमध्ये वाणिज्य बैंक, जलविद्युत, निर्जीवन बीमा, विकास बैंक, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, फाइनान्स, अन्य, सामूहिक लगानी कोष र लगानी सहितका ११ वटा समुहहरूको सूचक घटेकाछन् भने उत्पादनमूलक र लघुवित्त सहितका दुई वटा समुहहरूको सूचक बढेकाछन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज गोर्खाज फाइनान्स, हिमालयन डिस्ट्रिलरी प्रालि, कृषि विकास बैंक, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेकाछन् भने माउन्टेन इनर्जी नेपाल लिमिटेड, सामलिङ पावर लिमिटेड, सगरमाथा इन्स्योरेन्स कम्पनी आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने आज गोर्खाज फाइनान्स, हिमालयन डिस्ट्रिलरी प्रालि, कृषि विकास बैंक, नबिल बैंक आदि परेकाछन् ।