Kath khabar
शहीद स्मारक ‘ए’ डिभिजन लिग : एपिएफको पहिलो जित

काठमाडौं, पुस ५ । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा विभागीय टोली एपिएफ क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै पहिलो जित दर्ता गराएको हो । यो जितसँगै एपिएफ पाँच खेलमा चार अङ्क जोड्दै लिगको ११औँ स्थानमा उक्लेको छ । एपिएफको जितमा आशिष लामाले दुई गोल गर्नुभयो भने बिक्की तामाङले एक गोल गर्नुभयो। पराजित फ्रेन्ड्सका लागि भने प्रिजेन तामाङले एक गोल फर्काउनुभयो । एपिएफले खेलको ३०औँ मिनेटमा गोल गर्दै सुरुआती अग्रता लियो ।

कप्तान नवीन लामाको पासमा पेनाल्टी एरियाको ठिक बाहिरबाट बिक्कीले उत्कृष्ट गोल गर्नुभयो। खेलको ३२औँ मिनेटमा आशिषले गोल गर्दै एपिएफलाई २–० को अग्रता दिलाउनुभयो । कप्तान नवीन लामाकै पासमा उनले गोल गर्नुभएको थियो।

त्यस्तै खेलको ५६औँ मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफलाई ३–० को अग्रता दिलाउनुभयो। खेलको ६९औँ मिनेटमा प्रिजेनले पेनाल्टीमा गोल एक सान्त्वना गोल फर्काउनुभयो । एपिएफका दिपेश धिमालले पेनाल्टी एरियाभित्र जमुल एन्थोनीलाई फाउल गरेपछि फ्रेन्ड्सले पेनाल्टीको अवसर पाएको थियो ।

पाँच खेल खेलेको फ्रेन्ड्स दुई अङ्कका साथ लिगको अन्तिम स्थानमा छ । खेलमा एपिएफका आशिष लामा म्यान अफ दि म्याच घोषित हुनुभयो।

 

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update