दमौली, पुस ७ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी बारे सत्तारूढ पाँच दलको साझा धारणा बन्ने बताउनुभएको छ । तनहुँमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले एमसिसी परियोजनामा मतभेद सृजना गरी गठबन्धन भत्काउने एमाले अध्यक्ष केपी ओलीको प्रयास सफल नहुने बताउनुभयो । सत्तारुढ गठबन्धनमा एमसिसीबारे साझा धारणा बनाउन कार्यदल गठन भएको चर्चा गर्नुहुँदै मन्त्री श्रेष्ठले छिट्टै साझा धारणा सार्वजनिक गरिने बताउनुभयो । एमसिसीका अन्तरवस्तुका बारेमा पार्टीभित्र पनि छलफल भइरहेको उहाँले बताउनुभयो ।
फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले श्रम क्षेत्रमा वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन, नीतिगत सुधार गर्न, श्रम कूटनीतिलाई प्रभावकारी बनाउन आफु केन्द्रित रहेको बताउनुभयो । देशभित्र रोगजारीको अवसर वृद्धि गर्ने, स्वरोजगारीका लागि प्रोत्साहित गर्ने तथा सम्मानजनक वैदेशिक रोजगारीका लागि विभिन्न सुधारका काम अघि बढाइएको उहाँले बताउनुभयो । वैदेशिक रोजगारीका नाममा हुने ठगी र छलीका घटना अन्त्य गर्न कार्यदल बनाएको बताउनुहुँदै उहाँले वैदेशिक रोजगार नीति तथा कार्ययोजना पुनरावलोकन गर्न लागिएको बताउनुभयो ।
रोजगारीको लागि तुलनात्मक लाभ भएका रोजगार गन्तव्य मुलुकहरूको खोजी गर्ने र उक्त मुलुकमा नेपाली श्रमिकको हक हित संरक्षण र संवर्द्धनका लागि पहल गर्ने समेत उहाँले बताउनुभयो ।