Kath Khabar
भिजिट भिसामा रोजगारीका लागि दुबई गएका धादिङका १९ जना अलपत्र

धादिङ, पुस ७। रोजगारीको लागि भिजिट भिसामा दुबई काम गर्न गएका धादिङका १९ जना नेपालीहरु अलपत्र परेका छन् । नेपालबाट भिजिट भिसा लिएर दुबई पुगेपछि काम गर्ने योजनामा रहेका उनीहरुको भिसाको म्याद सकिएपछि एउटै कोठामा थुनिएर बस्न बाध्य भएका छन् । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का ९ जना र वडा नम्बर ५ खाल्टेका १० जना गरी एउटै नगरपालिकाका १९ जना दुबईमा अलपत्र परेर उद्धारको प्रतिक्षामा रहेको नीलकण्ठ नगरपालिकाले सञ्चालन गरेको सुरक्षित वैदेशिक रोजगारको सूचना तथा परामर्श केन्द्रका कार्यक्रम संयोजक दिनेश दुवाडीले बताउनुभयो ।

धादिङबाट भिजिट भिसामा गएपछि काम लगाइदिने प्रलोभन पारेर हरेक व्यक्तिसँग २ लाख ५० हजार रुपैयाँ असुलेर दुबई पुगेपछि काम गर्न नपाएको पीडित रमेश परियारले जानकारी दिनुभएको छ । नेपालमा भिजिट भिसामा मानिस लगेर काम लगाउने दलालको काम गर्ने नवराज तामाङले दुबई पुगेर पनि एउटा कोठामा लगेर राखेका थिए । सूचना तथा आप्रवासन केन्द्रमा गरिएको उजुरी अनुसार २५ जनालाई खान नपाउने र सुत्न समेत नमिल्ने कोठामा राखिएको छ ।

रोजगारीका लागि भिजिट भिसा लिएर विदेश जानेहरु धेरैजसोले यस्तै समस्या भोगिरहेकोले रोजगारीका लागि भिजिट भिसामा नजान सबैलाई दुवाडीले आग्रह गर्नुभएको छ । सूचना तथा परामर्श केन्द्रले परेकाहरुलाई नेपाल ल्याउने प्रयास भइरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update