Kath khabar
सामाजिक सुरक्षा कोषमा ११ अर्ब संकलन, २ लाख ९९ हजार श्रमिक र १६ हजार रोजगारदाता आवद्ध

काठमाडौँ, पुस ७। सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता आउने क्रमले निरन्तरता पाएको छ ।

श्रमिक र रोजगारदाता दुवैको हितको लागि स्थापना गरिएको कोषमा श्रमिक र रोजगारदाता आउने क्रमले निरन्तरता पाइरहेको छ । कोषमा चालु आर्थिक वर्षको मंसिरसम्ममा ११ अर्ब रुपैयाँ संकलन भएको छ । यस्तै श्रमिक अर्थात् योगदानकर्ताहरु दुई लाख ९९ हजार दुई सय ३२ र रोजगारदाताहरु १६ हजार १५ जना रहेका छन् । सो संख्या पाँच वटै प्रदेशका हुन् ।

यसैबीच कोषले श्रमिक तथा योगदानकर्ता मार्फत रकम संकलन तथा वितरणलाई भने निरन्तरता दिएको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा ३४ करोड ४४ लाख रुपैयाँ दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा ४८ करोड २२ लाख रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनामा नौ करोड ३० लाख रुपैयाँ, वृद्ध अवस्था सुरक्षा योजना आठ अर्ब २८ करोड ८४ लाख रुपैयाँ, साधारण अवकाश कोषमा एक अर्ब ४७ करोड तीन लाख रुपैयाँ, अतिरिक्त योगदान कोषमा सात करोड ७३ लाख रुपैयाँ संकलन भएको छ । यस्तै अन्य कोषबाट स्थानान्तरण २१  करोड ५० लाख रुपैयाँ र लगानी प्रतिफल कोषमा तीन करोड ७९ लाख रुपैयाँ संकलन भएको छ ।

कोषले रकम संकलन गर्ने योगदानकर्तालाई सुविधा अर्थात् रकम वितरण समेत गरेको छ । मंसिरसम्ममा ५३ करोड १४ लाख रुपैयाँ योगदानकर्तालाई रकम वितरण गरेको हो । दावी गर्नेहरू ११ हजार पाँच सय ५१ जना तथा दावी भुक्तानी संख्या १४ हजार नौ सय ६५ पटक गरिएको हो ।

औषधि उपभार, स्वास्थ्य तथा मातृत्व योजनामा सात करोड ६४ लाख रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा ६५ लाख रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनामा एक करोड २२ लाख रुपैयाँ र वृद्ध अवस्था सुरक्षा योजनामा ४३ करोड ६२ लाख रुपैयाँ वितरण गरिएको छ ।

सबैभन्दा बढी योगदानकर्ता र रोजगारदाता बाग्मती प्रदेशमा रहेका छन् । बाग्मती प्रदेशमा योगदानकर्ता दुई लाख २४ हजार सात सय आठ जना र रोजगारदाता १० हजार नौ सय २२ जना रहेका छन् । सबैभन्दा कम भने कर्णाली प्रदेशमा योगदानकर्ता नौ सय २५ जना र रोजगारदाता एक सय ९० जना रहेका छन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को प्रस्तावनामा नै श्रमिकको हितलाई प्राथमिकता दिएको छ । श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु तथा योगदानकर्तालाई सामाजिक सुरक्षा गर्नु यस कोषको उद्देश्य हुने ऐनको प्रस्तावनामा उल्लेखित छ। मुलुकभरका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराई उनीहरूको आर्थिक तथा सामाजिक जोखिमको न्यूनीकरण गर्ने, सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणालाई मूर्तरूप दिने तथा योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणलाई मूर्तरूप दिने तथा योगदानमा आधारित सामाजिक सुरक्षाको संवैधानिकहरुलाई सुनिश्चित गर्ने दिशातर्फ कोषका कार्यक्रम लक्षित छन् । तर उद्देश्य अनुरूप कोष अघि बढ्न सकेको छैन ।

केन्द्रीय तथ्यांक विभागका अनुसार देशभर नौ लाख वटा भन्दा बढी प्रतिष्ठान छन् । ती प्रतिष्ठानमा ३४ लाख जना श्रमिक कार्यरत रहेका छन् । त्यसैले गर्दा कोषमा अझै पनि ठूलो संख्यामा श्रमिक र रोजगारदाता आउनु आवश्यक रहेको छ ।

 

 

 

प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update