Kath khabar
१० हजार नेपाली नर्सलाई बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा क्षेत्रमा रोजगारी दिने तयारी

काठमाडौं, पुस ८ । बेलायत सरकारले नेपालबाट  १० हजार जना नर्स लैजाने तयारी गरेको छ । यसका लागि नेपाली पक्ष र बेलायती प्रतिनिधिले मोडालिटी तयार गर्ने भएको छ । अबको दुई महिना भित्रमा नेपाली नर्स बेलायत लैजाने मोडालिटी टुंगो लगाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेले बताउनु भयो ।

बेलायत पक्षबाट नेपाली नर्स लैजाने प्रस्ताव आएको हुदाँ त्यसमा नेपाली पक्षले विशेष चासो दिएर काम अघि बढाइएको उहाँको भनाई छ । बेलायतका प्रतिनिधिहरूले बेलायतस्थित नेपाली दूतावासमार्फत परराष्ट्र मन्त्रालयलाई औपचारिक पत्र लेख्दै नर्सको संख्या बारे जानकारी गराएको थियो सोही अनुरूप नेपाली पक्षले तयारी अगाडि बढाएको हो । सम्पन्न मुलुकको सूचीमा रहेको बेलायतमा नेपालीलाई रोजगारीको अवसर पाउने अत्यन्तै लाभदायी हुने यस क्षेत्रका अधिकारीहरूको भनाई छ ।

नर्स लैजाने विषयमा मन्त्रिपरिषद् समेत जानकार भइसकेको हुदाँ हाल भने यसको जिम्मेवारी श्रम मन्त्रालय अन्तर्गत रोजगार व्यवस्थापन महाशाखाका सह-सचिव विनु बज्राचार्य कुँवरको नेतृत्वले गरेको छ । सह–सचिव कुँवरको नेतृत्वमा गठित समितिमा परराष्ट्र, अर्थ, मन्त्रिपरिषद् लगायतका अधिकारीहरू सहभागिता रहेको छ । बेलायत सरकारले नर्स लैजाने विषयमा औपचारिक पत्र पठाइए परराष्ट्रलाई जानकारी गराई सकेको हुदाँ सोही अनुरूप नेपाली पक्षले तयारी थालेको हो ।

यसैबीच नर्स लैजाँदै लाग्ने सम्पूर्ण खर्च बेलायत सरकारले व्यहोर्ने जानकारी समेत नेपाली पक्षलाई गराइएको छ । यो सँगै नेपालबाट नर्स बेलायत लैजाँदै गर्नु पर्ने सम्पूर्ण प्रक्रियाहरूको खर्च बेलायतका प्रतिनिधि अर्थात् बेलायतका रोजगारदाताले व्यहोर्ने छन् । यसका लागि बेलायतका प्रतिनिधिहरूले समेत निक्कै चासो व्यक्त गरेको बताइएको छ । मोडालिटी भने टुंगो लागि नसकेको अवस्थामा पनि छनौट गर्ने, परीक्षा लिनु पर्ने लगायतका नेपालमा हुने सम्पूर्ण प्रक्रियाको खर्च व्यहोर्ने बेलायती पक्ष तयार भएका छन् । सामान्यतया विदेश काम गर्न जाँदा परीक्षा दिने, स्वास्थ्य चेकजाँच, बिमा, श्रम स्वीकृति, हवाई टिकट लगायतका प्रक्रियाहरू अपनाउँदा शुल्क लाग्ने गर्छ ।

बेलायतका राष्ट्रिय स्वास्थ्य सेवा क्षेत्रमा रोजगार दिनको लागि उनीहरूलाई बेलायत लैजान लागिएको हो । नेपाल नर्सिङ एशोसियसनका अनुसार मुलुकमा हालसम्म ६६ हजार जना नर्स रहेका छन् ।  जसमध्ये २५ हजार जना विदेशमा र नौ हजार जना सरकारी क्षेत्रमा कार्यरत रहका छन् । बाँकी निजी अस्पतालमा कार्यरत रहेको आँकलन गरिएको छ ।

हाल पनि नेपाली नर्सहरू आफ्नै पहलमा समेत बेलायत जाने गरेको एशोसियसनका अधिकारीहरूको भनाई छ । नर्सहरूको लागि खाडी मुलुकमा समेत आर्कषक तलब दिने गरेको हुदाँ सो मुलुकहरूमा समेत नेपाली नर्सहरु कार्यरत रहेको पाउन सक्छौं ।


 

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update