Kath khabar
अबदेखि वैदेशिक रोजगारीमा जानेहरुका लागि खोपको समस्या नहुने 

काठमाडौ, पुस ९ । वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई सहजरूपमा खोप उपलब्ध हुन थालेको छ । सरकारले वैदेशिक रोजगारीमा जानेलाई प्राथमिकता दिएर काठमाडौँका विभिन्न अस्पतालबाट जोन्सन एन्ड जोन्सनको खोप दिन सुरु गरेपछि सहजजरुपमा खोप उपलब्ध हुन थालेको हो । वैदेशिक रोजगारीमा जाने कामदारले सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु र टेकु अस्पतालबाट खोप लगाउन पाउनेछन् ।


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग वैदेशिक रोजगार व्यवसायी तथा श्रमिकहरुले एक डोजमात्र लगाउँदा हुने जोन्सन खोप व्यवस्थापन गर्न आग्रह गर्नुभएको थियो । मन्त्री श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई पत्र लेखेर खोप व्यवस्थापन गरिदिन आग्रह गर्नुभएको थियो । श्रेष्ठले वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई कोरोना भाइरस विरुद्धको खोप मध्ये जोन्सन एण्ड जोन्सन कम्पनीको खोप लगाएकाहरुलाई मात्र प्रवेश दिने भएकोले पाँच लाख डोज खोप व्यवस्थापन गरिदिन आग्रह गर्नुभएको थियो । 


वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई सहजरूपमा खोप उपलब्ध गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जोन्सनको खोप एक डोजमात्र लगाउँदा हुने भएकोले विदेश जानेहरुले यो खोप लगाउने गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८  २१:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update