काठमाडौं, पुष १० । विनिता नकर्मी । उमेर ५४ । पहिले सिरडी साई होस्टेल र अहिले न्यू सुमित गर्ल्स होस्टलकी सञ्चालिका । एक साहसी महिला, जसले २०५६ सालमा नौलो नौलो नै व्यवसाय सुरुवात गर्नुभयो । उहाँको यो पेशाप्रतिको लगाव, साहस, संघर्षका दिनहरु र आजको अवस्था.....सुनौं उहाँकै शब्दमा ।
२०५६ सालबाट सुरु गरेको यो व्यवसाय । पहिलो ग्राहक थिइन् जोमसोमकी विमला थकाली । होस्टेल त्यतिबेला स्कुल कलेजमा मात्र थियो । बाहिर त्यति थाहा थिएन । यो होस्टेल सुरु गर्नुमा मेरो श्रीमान (कृषि विकास बैंकका इञ्जिनियर) बसन्त कुमार नकर्मीको ठूलो साथ सहयोग र देन रहेको छ ।
हामी त्यतिबेला दशैँमा मावली गएका थियौं त्रिशूली । अनि ठूलो मामाले उहाँको ससुराली रसुवाको पैरेवेशी जाऊ भन्नुभयो र हामी सबै गयौँ । अनि अलि दुर्गम ठाउँ रहेछ । टिकाटालो सबै सकियो । अनि यसो मनमा केही सोच आयो । यि बालबच्चाहरूलाई उता अलिकति अवसर भएको ठाउँ, काठमाडौं लगेर पढाइलेखाइ गरिदिन पाएपनि हुन्थ्यो जस्तो.... । आफ्नो पनि काम हुने उनीहरूलाई पनि खान, बस्न, पढ्न सजिलो हुन्छ भन्ने लाग्यो ।
जागिरे श्रीमान, ३ जना छोराछोरी, एउटा २ क्लास, अर्को ५ क्लास अनि अर्को एसएलसी दिने । केही गर्नको लागि पटक्कै पैसा थिएन । ति उताका बच्चाहरु ल्याएर खाने बस्ने व्यवस्था गर्न पाए हुन्थ्यो तर पैसा थिएन । यी कुराहरू आफ्नै मनमा राखे मैले ।
अनि त्यो दशैँ पछिको मंसिर महिनामा आफ्नै घर कमलपोखरीमा ३/४ वटा खाट मिलाए एउटै कोठामा । अनि कमलपोखरीमै ससुराको साथीको घर माग्न गए । आफ्नो योजना बताए अनि दिनुभयो । एक फ्ल्याटको नौ हजार रुपैयाँ, जसमा १९ जना अट्थे । श्यामकृष्ण ताम्राकार उहाँ । असनमा साइकल पसल छ । हुन्छ भनेर तयारी थाले तर पैसा थिएन अनि यहाँ नक्सालकै ‘असली’ भन्ने सहकारीबाट ३० हजार रुपैयाँ ऋण लिएर 'ओम साई छात्रावास' खोले । घरबेटीलाई नौ हजार रुपैयाँ दिए । कार्पेट, पर्दा सबै कामलाई पुगेन । अनि आफ्ना केही गहनाहरू, तिलहरी समेत बेच्दा ४० हजार रुपैयाँ जति आयो अनि मेरो अत्यन्तै सहयोगी श्रीमानले केही गरी ६० हजार रुपैयाँ दिनुभयो । ऋण नै थियो त्यो पनि । अब मसँग जम्माजम्मी एक लाख ३० हजार रुपैयाँ भयो अनि बल्ल कामको गति बढ्यो । २ वटा, ४ वटा गर्दागर्दै रातारात बेडहरु बन्यो । १९ वटा बन्यो पनि । भाडा पनि तिरियो । तर १५ दिन भैसक्यो विद्यार्थीहरु कोही छैनन् । सब तयारी भैसकेको थियो १५ दिन मै । अनि एकदिन एकजना बुढो मान्छे बोर्ड हेर्दै हुँनुहुँदो रहेछ । एउटी फुच्ची केटी पनि थिइन् । अनि आफैं कुरा गर्न गए । उहाँले सोधेअनुसार बताउँदै भित्र लिएर गए । यसो चारैतिर हेर्नुभयो उहाँले । श्रीमान र छोराहरुको जुत्ता देख्नुभयो अनि यहाँ त केटा मान्छेहरु पनि बस्दा रैछन् भनेर नाक खुम्च्याउनु भयो । अनि मैले सबैको परिवार जस्तै मेरो पनि परिवार छ भने । श्रीमान हुनुहुन्छ, छोराहरु र छोरीहरु पनि छन् भनेर बेलीविस्तार लगाएपछि उहाँ खुसी हुनुभयो । अनि ति नानी (विमला थकाली) लाई छोडेर जानुभयो ।
त्यतिखेरसम्म पत्रिकामा छापेर विज्ञापन पनि गरिरहेकै थिए कतिपय ठाउँहरुमा आफै जान्थे । NIST, KIST, CCI आदिमा गएर स्टुडेन्टहरु माग्थे । जहिले पनि म साइभक्त भएकोले साइबाबाको बिभूति लगाएर हिड्थे अनि बागमती कलेजको सिटौला सरले यस्तो विभूति लाएर हिड्ने मान्छेलाई म पठाईदिइहाल्छु नि भन्नुभयो । चोभारको मोर्डन इण्डियन स्कुलबाट पनि पठाउन थाल्नुभयो ।
एउटा कोठा मात्र आफूले प्रयोग गरेर बाँकी सबै स्टुडेन्टको लागि छुट्टयाएको थिए । त्यसपछि रेयुकाईको हेड इन्द्र कमल मानन्धरको दाई उत्तम मानन्धरले पोखरादेखि फोन गर्नुभयो । उहाँले भनेअनुसार नै उहाँको बहिनीलाई सिङ्गल रुम दिए । मोबाइल थिएन । ल्यान्डलाइनकै भरमा सबैतिर सम्पर्क हुन्थ्यो नै । उहाँ आउनुभएपछि बल्ल दुई जना हुनुभयो । पत्रिकामा विज्ञापन छापिरहेकै थिए । त्यतिखेर भर्नाको एक हजार पाँच सय रुपैयाँ र मासिक तीन हजार पाँच सय रुपैयाँ लिन्थे मैले । यि दुइटी नानीहरु आएको ८/१० दिनपछि राष्ट्रिय मृगौला केन्द्रबाट फोन आयो । गण्डकीबाट एकजना डाक्टर र अरु सबै नर्स गरेर ३० जनाको व्यवस्थापन गर्नुपर्ने भयो ।
आफूले खोजेकै त्यस्तै थियो । अनि घरबेटीसँग माथिको अर्को फ्ल्याट पनि माँगे, उहाँले पनि खुसीसाथ दिनुभयो । भाडा अब जम्मा सबै गरेर २२ हजार रुपैयाँ दिनुपर्ने भयो । त्यो टिममा एकजना मात्र डाक्टर हुनुहुन्थ्यो । व्यवस्थापन गरियो उहाँलाई पनि । त्यसपछि धेरै ठाउँतिरबाट बोइज होस्टल पनि खोल्नको लागि कुराहरू आयो । त्यसपछि एउटा चारतले घर लिए । ८० जना अट्थे । अनि छोराहरुलाई त्यहाँ राखे । छोरी आफूसँग राखे । व्यवसाय राम्रै थियो । २०६० सालसम्म आइपुग्दा दुई सय ४० जना थिए । बोइज, गर्ल्स सबै गरेर । ०५९/६० सालतिर अलि गाह्रो थियो । द्धन्द्धकालको समय । नेताहरुकै बच्चाहरू पनि थिए । मेरो लागि त सबै एकनासकै हुन् । कसैलाई भन्दिन थिए म ।
पहिलो ग्राहक विमला थकाली आउँदा सायद सबैभन्दा खुसीको क्षण त्यहि थियो । छ महिना मात्र बसेकी हुन् । तर अत्यन्त आत्मिय भइयो । जाने बेलामा उसको बुबा गाडी रोकेर कुरी राख्नुभएको थियो । उनी चाहीँ बाथरुममा गएर रुँदै रहिछन् । अनि म भेटेपछि फेरि एकघण्टा अँगालो मारेर रोएको रोयै । खै अहिले सम्पर्क छैन । जापानतिर छिन् भन्ने सुनेको हो । मसँग त्यतिबेला मोबाइल नहुनु, होस्टेल सरिरहनु आदि कारणले सम्पर्क टुटेको हो। खुसी लाग्थ्यो उनिहरुको सफलतामा । यहाँ बसेका मध्ये १०/१२ जनाले एम.बि.बि.एस मा नाम निकाले । यहि बसेर पढेर भिसा लागेर बिदेश गए । गज्जब खुसीको क्षण हो नि त्यो ।
कोहि आभिभावकले चाहिँ छोडेर गएपछि वास्तै नगर्ने, ढुक्क हुने, अनि कोही चाहिँ बेलाबेलामा फोन गर्ने, बुझ्न आउने गर्नुहुन्थ्यो । अनि म त यतिसम्म गर्थे कि कोही बच्चाहरू बहिर कतै गए भने ट्याक्सी चढेर गएर चियोचर्चो गर्थे । कहाँ जान्छ, के गर्छ बुझ्नु त पर्यो नि । छोरीले कराउँथी अनि, “जम्मा ३०००/३५०० लिएको छ, ट्याक्सी चढी चढी घुमेर बुझेर के फाइदा हुन्छ ?” तर अभिभावकले त मेरो भरोसामा छोडेका हुन् नि त । जिम्मेवारी त लिनुपर्यो नि होइन र ?
गायक प्रेमराजा महतकी छोरी शिक्षा पनि यहि मेरैमा बसेकी हुन् । ०६० सालमा । छोराहरु पनि यहि बसेका हुुन् । अनि उहाँको दाईको छोरी लुना (एयर होस्टेज, कतार एअरवेज) पनि यहि बस्नुभएको हो । ध्रुब शिवाकोटी (इटहरी) ज्यूको छोरा नेपाल रत्न शिवाकोटी पनि यहि बस्नुभएको । रुकुम, रोल्पा, हुम्ला, जुम्ला, डोल्पा देखिका सबै आउँछन् । निशुल्क गर्न नसकेपनि आफूले सक्दो त गरेकै छु । कति जना हुनुहुन्छ जसको सारै दया माया लाग्यो, पैसा नहुनेहरु, उनीहरूलाई पनि आधा पैसामा पनि राखे । भाडा त तिर्ने पर्यो मैलेपनि ।
त्यतिखेर महिनाको ३५०० ले बिहान दुध, बिस्कुट, अनि खाना, दिउँसो खाजा, बेलुकीको खाना र बसाइको भाडा हो । अनि मासु हप्तामा २ पटक, एक पटक अण्डा पनि पुग्थ्यो । खाना त अहिले पनि त्यहि हो । दुधको साटो चिया हो । ४ जना सेयरिङ्गमा बसे ९ हजार, ३ जनाको सेयरिङ्गमा ९५ हजार, दुईजना सेयरिङ्गमा १०/११ हजार अनि सिङ्गल बसे १२ हजार हो । शुरुमा दर्ता गर्न भनेर गएको त हाँसे । होस्टेल पनि दर्ता गर्नुपर्छ र भने । पछि फेरि हामी सबै साथीहरु मिलेर होस्टेल एशोसियसन बनायौं अनि घरेलुमा दर्ता गर्यौ । यो एशोसियसन पनि उहि हो वार्षिक शुल्क ३/४ हजार लिन्छ तर सहयोग गर्ने कोही छैन । एशोसियसन त हराईरहेको छ अहिले ।
कोरोनाको बेलामा पनि एउटा सहयोग त परै जाओस् सान्त्वना समेत दिएन । कोरोनाको कारणले गर्दा करिब ५० वटा जति होस्टेल त पलायन नै भए । यो क्रम अझै जारी नै छ । कतैबाट केही सहयोग छैन । भाडा तिर्नै नसकेर त हो । ०७२ सालसम्म मेरै ४ वटा थियो । कोरोना अगाडिसम्म मेरै ६/७ वटा थियो । किष्ट हस्पिटलको अगाडि २ वटा, कुमारी हलको पछाडि ४ वटा, अनि एभरेष्ट ममको भित्रपट्टि रमा सिंको घरमा पनि थियो । पछि उहाँले घर बेच्नुभयो । मैले सि.ए. पढनेहरु राख्थे त्यहाँ ।
केटीहरु दुर्व्यसनीमा त्यति हुन्नन् । आफै पनि सानैदेखि अलि परिपक्व हुन्छन् । हुन्छन् नि कोही त वियर, चुरोट खानेहरु । तर होस्टेलभित्र त्यस्तो पाइएमा रु ५ हजार जरिवाना छ । एकदुई पटकको चेतावनीमा पनि सुध्रिएनन् भने अभिभावक बोलाएर पठाईदिन्छौं हामी । मेरोमा अहिले त्यस्तो भेटाइएको छैन । बोइज होस्टलमा भेटाईन्छ । सबैले खाने पनि हुन्नन् र नखाने पनि हुन्नन् । पहिले पहिले त मैले चुरोट खाएको थाहा पाएमा १५० पटक उठबस नि गराउँथे । त्यो त ठूलो सजाय थियो अहिले त्यसो गर्यो भने त उल्टो मलाई कारबाही हुन्छ होला ।
सहयोगी पाठशालाको बलराम सरको तर्फबाट एकजना आउनुभयो । लैन सिं सुब्बा । उहाँहरु सधै मलाई गुरुआमा भन्नुहुन्थ्यो । उहाँको छोरा सुरज सहित अरु ११ जना थिए । एसएलसीमा ३/४ पटक कोही १/२ पटक फेल भएका । ति मध्ये एकजना बाहेक सबै पास भए । लैन सिं सुब्बाले, गुरुआमा ! हामीसँग लक्ष्मी त छ तर सरस्वती छैन भन्नुभयो अनि मैले त्यो सुरज बाबुलाई यहि राखे । उसको बानी अलि अनौठो थियो । कोक र काजु खुब खानुपर्ने । अनि अल्छि हुने, बिहान पटक्कै नउठ्ने । दुई चार दिन खुब हेरे उसको आनीबानी, उस्तै छ । बिहान ५ बजे उठेर तयारी गर्नुपर्ने ६ बजे पढ्न जानलाई । अरु सबै उठेर तयार हुन्थे तर ऊ नउठ्ने । त्यतिखेर दुध दिन्थे मैले बिहान । एक गिलास दुध र एक प्याकेट बिस्कुट पार्ली जी/ग्लुकोज नुनिलो यस्तै यस्तै । अनिवार्य खानै पर्थ्यो।
तर त्यो सुरज चाहीं सुतिरहने । २/४ पटक सम्झाए । काजुले अल्छि बनाउँछ, थोरै खाए बल, धेरै खाए राम्रो हुन्न भनेर । हस् त भन्थे तर बानी उस्तै । अनि उसको मम्मीलाई पनि भन्थे धेरै पैसा नदिनु, काजू नखुवाउनु भनेर । बरु स्कुलको क्यान्टिनमा भन्दिनुस् उतै खाजा खान्छ भनेर । हस् भन्नुहुन्थ्यो उहाँ पनि । धेरै पछि बल्ल उसलाई समयमै उठ्ने बानी लाग्यो । २/३ पटक त जाडो महिना थियो पानी नै खनाईदिए मैले ओछ्यानमै । अनि झस्केर ब्युझिन्थ्यो । अनि विस्तारै काजू कम खान थाल्यो । दूध बिस्कुट पनि खान थाल्यो । यहाँको अनुसार खाना पनि खान थाल्यो । पढाईमा पनि मन लगाउन थाल्यो । त्यो ग्रुपमा एकजना मात्र फेल भयो । ठाउँ मेरो भएपनि मेहेनत त उनिहरुकै हो नि । सफल हुनेहरु थुप्रै छन् । खुसी लाग्छ ।
२०५६ सालदेखी अहिलेसम्म १२/१५ हजार भए होलान् तर तथ्याङ्क यकिन चाही छैन । कोही एम.बि.बि.एसस, एम.डी गरेका छन्, कोही डाक्टरहरु अमेरिकातिर पनि छन् । कोही कतैको सिईओ छन् । कोही सरकारी जागिरमा ठूलै पदमा पनि छन् । तर कतिपयलाई मैले नचिनौला अनि कतिपयले मलाई चिन्दैनन् । साल त बिर्सिए तर सन्देश श्रेष्ठ भन्ने हुनुहुन्थ्यो एकजना । जो पछि कान्छो अधिकृत भनेर चिनिनिुहुन्थ्यो । एमबिबिएसको तयारीमा यहाँ बस्नेहरु ७०/८० जना त डाक्टर नै छन् । टिचिङ्ग गए पनि भेटिन्छन् अरु अस्पतालमा पनि भेटिन्छन् ।
सम्झेर भेट्न आउने पनि टन्नै छन् । अभिभावकहरुले पनि आफ्नो बच्चाको हेरबिचार राम्रो देखेर साथीभाई, आफन्तको बच्चाहरू प्रशस्तै पठाईदिनु हुन्छ । गत दशैँमा पनि एकजना आउनुभएको थियो त्यस्तै नाता लगाएर तर म तराईतिर थिए । एकजना मात्र राख्न गाह्रो हुन्छ भनेर राखिन मैले ।
यो कोरोनाले गर्दा त बर्बादै भयो । कतैबाट केही सहयोग पाइएन । घरबेटीलाई पनि अलिकति भनसुन गरेको । ५० प्रतिशत नभए ३० प्रतिशत छुटको कुरा गरेको मान्नु भएन । पुरै तिर्नुपर्यो । बिस्तारै बिस्तारै आफ्नै भवन बनाउला । २/२ वटा बेडको कोठा अनि बाथरुम पनि भन्ने सोच थियो । तर राम्रो खुवाउँदा पुरै सुविधा दिँदा त्यो पनि सम्भव भएन । त्यस्तो ठूलो कमाई पनि भएन । यसो अलिअलि खर्चवर्च बच्ने मात्र हो । अहिले त त्यो पनि ठ्याप्पै छैन । विस्तारै विस्तारै ठिक होला भन्ने आशा छ । अहिले त ४० जना पुगे फेरि । तर हल्ला चाही कोरोनाकै खै के के छ तर त्यस्तो नहोस् फेरि ।
अब हाम्रा लागि त रिटायर्ड लाइफ जस्तै हो । त्यतिखेर देखिको समय बरु जागिरमा खर्च गरेको भए अहिले यसो पेन्सन, उपदान आउँथ्यो होला तर त्यो पनि छैन । अरु काम जानेको पनि छैन । गरेको र जानेको यही हो । राम्रोसँग चलायो भने होस्टेल व्यवसाय राम्रो छ ।
कोही बच्चाहरू सफल भए भने मलाई आफ्नै बच्चा सफल भए जस्तो लाग्छ । कहिलेकाही परिवार र होस्टेल या आफ्नो कामको टकराव पनि पर्छ तर कामलाई प्राथमिकता दिनुपर्नेहुन्छ । मेरो छोरी आर्किटेक्ट इञ्जिनियर । २००७ मा ऊ अमेरिका गई । ऊ जानु अघि उसले यहाँपनि जागिर खादै थिई । अनि मेरो जन्मदिन मनाउने भनेर ट्रेन्डी रेष्टुरेन्ट बुक गरेकी रहिछ । त्यहि दिन यही होस्टेलमा बस्ने इटहरीकी बहिनी बिरामी भइन् । अनि म उसलाई कुरेर बसेँ हिमाल हस्पिटलमा । अनि छोरी रिसाई । नेपालमा यहि अन्तिम त हो जन्मदिन मनाउने तैपनि मम्मी आउनु भएन भनेर अनि राती १२ बजे म पुगे । रेष्टुरेन्ट त बन्द भैगयो अनि सबै घटनाक्रम बेलीविस्तार लगाएर अब घरमै केक काटौं भनेर राती घर गएर जन्मदिन मनाइयो ।
होस्टेल बसेर पढ्ने भाईबहिनीहरुलाई म बुबाआमाले कति दुख गरेर लगानी गरेर पढ्न पठाएका हुन्छन् त्यसको राम्रो सदुपयोग गरिदिनुहोस् भन्छु । ०७२ सालपछि केही नराम्रा घटना घटे जीवनमा । मेरो श्रीमान पनि जागिरबाट अवकाश भएपछि यहिको हिसाबकिताव हेरिदिनुहुन्थ्यो । उहाँ बित्नुभयो । यि सब काममा मेरो श्रीमानको साह्रै ठूलो सहयोग रह्यो । कान्छो छोरा पनि भूकम्पमा छिमेकीको पर्खाल लडेर घाइते भयो, बुहारी पनि घाइते भइन् । मलाई बिरक्त लाग्यो । काम नै छाडौं जस्तो पनि भयो । अनि मैले त्यो 'सिरडी साई होस्टेल' अर्को एकजनालाई चलाउन दिए । ५५ जना केटा र ५५ जना केटीहरु जम्मा ११० जना थिए ।
म खाली बसे करिव एक वर्ष जति । धर्मकर्मतिर मात्र लागे । एक वर्षपछि यहि भरत सरले बोलाउनु भयो अनि यहाँ न्यू समिट स्कुल खाली भएपछि 'न्यू सुमित गर्ल्स होस्टल' भनेर राखेको । पुरानो त नामै सहित अरुलाई दिइहाले । अब अझै आशा छ । राम्रो होला । सबै साथीहरुको पनि राम्रो होस् । सबैले गरिखानुपर्छ । अब नयाँ पुस्ताले गर्नुपर्छ । संघ पनि दुई वर्षदेखि निष्क्रिय जस्तै छ । त्यो पनि ब्युताउनु पर्छ । बस् ।